पर्यटकलाई नेपाली भाषा सिकाउन डिजिटल सामग्री
![]() |
काठमाडौ, श्रावण १७ - नेपाल घुम्न आउने पर्यटकले स्थानीय भाषा नबुझेर अल्मलिनु पर्ने अवस्था अब हुने छैन । तीन दशकदेखि अंग्रेजी अध्यापनमा संलग्न सदिप प्याकुरेलले यसको उपाय निकालेका छन् । उनले पर्यटकलाई उनीहरू घुम्ने ठाउँमा नेपाली भाषा नबुझ्दा पर्ने समस्या समाधान गर्न डिजिटल सामाग्री उत्पादन गरेका छन् ।
उनले उत्पादन गरेको अडियो र भिडियो प्याकेजले पर्यटकलाई उनीहरू पुगेका ठाउँमा नेपालीसँग यहीँको भाषामा बोल्न सघाउने छ । 'नेपाल घुम्न आउने पर्यटकहरू यहाँको भाषा नबुझेर अल्मलिने गरेको देखेपछि यस्तो सामग्री उत्पादन गरेको हुँ,' उनले भने, 'यो सामग्रीले जुनसुकै भाषाका पर्यटकलाई नेपालीमा आफ्नो बोल्न सिकाउने छ । यसले गर्दा पर्यटकले आफ्नो बसाइसमेत लम्ब्याउने छन् । 'ए ट्राभल गाइड प्याकेज फर इन्स्ट्यान्ट कम्युनिकेशन' नाम दिइएको उक्त सामग्रीले पर्यटकलाई उनीहरूले अग्रेजीमा बोल्दा त्यसलाई नेपालीमा प्रकट गर्ने तरिका रोमनमा लेखेर भन्न सिकाउँछ ।
पर्यटक घुम्ने क्रममा कहाँकहाँ पुग्छन्, कस्ता संवाद बोल्छन् भन्नेबारे ४ बर्ष अनुसन्धान गरेर यो सामग्री तयार गरेको प्याकुरेलले बताए । उनका अनुसार पर्यटकहरू ट्राभल एजेन्सी, मनी एक्स्चेन्ज, रेस्टुरेन्ट, ट्याक्सी, सपिङ् सेन्टर, होटल, एयरपोर्ट, एटिएम सर्भिस, हेल्थ क्लव, पुरातात्विक स्थल, हेर्न लायक स्थल, गिफ्ट सप, थिएटर, साइबर क्याफे, टेलिकम, ब्युटी पार्टर, लन्ड्रीलगायत विभिन्न ३५ स्थानमा पुग्ने गर्छन् । उनले आफ्नो सामग्रीमा ती स्थानमा पुग्दा बोल्नु पर्ने कुरा पर्यटकको भाषा, रोमन र नेपालीमा अडियो, भिडियो सिडीमा तयार गरेका छन् ।
पर्यटकको गन्तब्य, खाने कुरा, बोल्ने भाषा फरक भएपनि उडान, खाने, यात्रा गर्ने तरिका एउटै हुने भएकाले त्यसै आधारमा सामग्री तयार गरिएको उनले बताए । 'पर्यटक कुनै ठाउमा जानुअघि कफी खाएका बेला आफ्नो मोवाइल, ल्यापटप, एमपीथ्री/फोर, आइपडलगगायतमा ट्रयाकअनुसारको सामग्री सुनेर आफूलाई नेपाली बोल्न तयार पार्न सक्छन्,' उनले भने, 'त्यसलाई उनीहरूले सम्बन्धित ठाउमा सजिलै प्रयोग गर्न सक्छन् ।' यो सामग्री चिनीयाँ, भारतीय, अरबी, मलाया, कोरियाली, जर्मन, स्प्यानिस, इटालेल र फ्रेन्च भाषामा समेत तयार भएको छ । उनले यसलाई युट्युवमा राखेर नेपाल आउने पर्यटकलाई पहिल्यै जानकारी गराउने तयारी गरेको बताए ।
![]() |