शुक्रबारदेखि राजधानीमा नाइट बस हुईंकिने
|
चिटिक्क परेका १४ वटा गाडी गुड्न ठिक्क
३२ असार, काठमाडौं । साँझ परेपछि सार्वजनिक गाडी नपाएर हैरान भएका राजधानीका यात्रुले शुक्रबारदेखि नाइट बस चढ्न पाउने भएका छन् । बेलुकीसम्म कामधन्दा र हिँडडूल गर्ने सर्वसाधारण यात्रुलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पहलमा ‘नाइट मेट्रो बस’ सञ्चालनमा आउन लागेको हो । ‘शुरुवातमा साँझ ८ बजदेखि राति ११ बजेसम्म १४ वटा गाडी सञ्चालनमा आउँछ’ महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भन्नुभयो -’त्यसपछिको अवस्था र अनुभव हेरेर निर्णय गरिन्छ ।’ यात्रु र सुरक्षा दुवै कुरा मिल्यो भने रातभरी गाडी चलाउन आफूहरु तयार भएको उहाँको भनाई छ ।
अहिले राजधानीमा साँझ परेपछि सार्वजनिक गाडी पाउन मुश्किल हुन्छ । आफ्नो सवारी साधन भएकालाई त समस्या छैन । तर जसको साथमा गाडी छैन र राति अबेरसम्म पनि काममा हिँड्नुपर्छ, उनीहरुले निकै सास्ती खेप्नुपरेको छ । एक त साँझ परेपछि गाडी पाउन मुश्किल । पाइहालेमा पनि भीडभाड र ठेलम्ठेल । चोरी, डकैती र लुटपाटको उस्तै सम्भावना । यही असुरक्षाकै कारण राजधानीका सार्वजनिक गाडी साँझ पर्ने बित्तिकै ग्यारेजमा थन्किन्छन् । जसका कारण सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।
बेलुकी हिंड्ने भन्दा पनि बिहानपख हिँड्नुपर्ने यात्रु धेरै छन् । देशका बिभिन्न ठाउँबाट चल्ने रात्री बस बिहान ३ बजेदेखि नै राजधानी भित्रिन शुरु गर्छन् । बिहान सबेरै राजधानी ओर्लने यात्रुलाई गन्तव्यमा पुग्न गाडी हुँदैन । त्यसैले उनीहरु बसपार्क नजिकका होटलमा चर्को पैसा तिरेर बस्न बाध्य छन् । दिउँसै आइपुग्नुपर्ने गाडी ढिला हुँदा पनि यात्रुले यसैगरी कष्ट र हैरानी खेप्नुपरेको छ । यिनै यात्रु र काम विशेषले राजधानीमा रातिको समयमा हिँडडूल गर्नुपर्नेहरुलाई ध्यानमा राख्दै रात्री बस सञ्चालनमा आउन लागेको हो ।
अहिलेको यो व्यवस्थाले राति ११ बजेसम्म हिँडडूल गर्नुपर्नेहरुलाई मात्र राहत पुग्छ । बिहान सबेरै हिँड्नुपर्नेको समस्या भने समाधान हुँदैन । तर परीक्षणका लागि शुरुका ६ महिना बेलुका ८ बजेदेखि ११ बजे सम्म सन्चालन गर्ने र सफल भए समय बढाउने गरी तयारी गरिएको महानगरपालिकाले जनाएको छ । सुरक्षाका लागि हरेक बसमा दुईजना सुरक्षाकर्मी राख्ने तयारी छ । शुक्रबार साँझ रत्नपार्कबाट बस सेवा शुभारम्भ गर्ने कार्यक्रम छ । तत्काललाई दिउँसो लिने आधारमै भाडा तोकिएको छ ।
बस र रुट तयार
शुक्रबारदेखि रातिको समयमा हुईंकिन २६ सिटका १४ वटा चिटिक्क परेका नयाँ बस तयार भएर बसेका छन् । बसको माथिल्लो भागमा सेतो र तल्लो भागमा वैजनी रङले पोतिएको छ ।
बसका अगाडि र पछाडि पट्टकिो सिसामा ‘महानगरपालिकाद्वारा सञ्चालित रात्रिबस’ भनेर डिजिटलाईज्ड बत्ती बल्ने व्यवस्था गरिएको छ ।पहिलो चरणमा रत्नपार्कबाट कलंकी, लगनखेल, कोटेश्वर, बौद्ध, गोंगबु लगायत रुट र चक्रपथमा रात्री बस चल्नेछन् । रत्पार्कबाट कलंकी रुटमा दुई, बाँसबारी रुटमा दुई, जोरपाटी रुटमा दुई, सिनामंगल हुँदै जोरपाटी रुटमा दुई र लगनखेल हुँदै सातदोबाटो रुटमा दुईवटा बस गुड्नेछन् । चारवटा बस भने चक्रपथ क्षेत्रमा गुड्नेछन् । तीमध्ये कोटेश्वरबाट चक्रपथको दायाँ र बायाँतर्फ एकएकवटा तथा कलंकीबाट चक्रपथ दायँ र बायाँतर्फ एकएकवटा बस सञ्चालनमा आउनेछन् ।
नक्साः कारोबार दैनिकबाट साभार
|




