बैद्यको माओवादीले सैन्य कार्यदिशा बनाउने

१ भदौं, काठमाण्डौं । नेकपा-माओवादीले पुस २५ गतेदेखि २९ गतेसम्म महाधिबेसनको मिति तय गरेको छ । विहीबार पार्टीको पोलिटव्युरो बैठकले सैन्य कार्यदिशा तय गर्ने गरी महाधिबेसन निर्धारण गरेको हो ।
एकीकृत नेकपा माओवादीबाट विभाजन भएको डेढ महिनाभित्र संगठन निर्माणका क्रममा ६० प्रतिशत ‘युद्धकालीन’ कार्यकर्ता आफुसँग रहेको निष्कर्ष निकाल्दै पार्टीले सैन्य कार्यदिशा तय गर्ने निर्णय गरेको खबर आजको नागरिक दैनिकले छापेको छ । कार्यदिशा तयार गर्ने जिम्मा सचिव नेत्रविक्रम चन्दलाई दिईएको छ ।
‘पार्टीको सैन्य कार्यदिशा तयसहितको प्रतिवेदन तयार पार्ने जिम्मा विप्लव (चन्द)लाई दिने निर्णय भएको छ’, पोलिटव्युरो सदस्य खड्गबहादुर विश्वकर्माले भन्नुभयो ।
महाधिबेसनले सैन्य कार्यदिशा तय गर्ने निश्चित भएपछि पुनः ‘छापामार युद्ध’ तयारीमा जुट्ने निर्णय भएको अर्का एक सहभागीले बताए । ‘चन्दजीले सैन्य दस्तावेज तयार गर्ने कार्यदिशा बनाउनुहुन्छ, फौजी दस्ता बनेपछि युद्ध नगर्ने भन्ने हुँदैन,’ ती सहभागीले भने । एकीकृत माओवादीको मूल नेतृत्व क्रान्ति छाडेर दक्षिणपन्थी अवसरवादी बनेको आरोपसँगै नेकपा-माओवादीको गठन भएको थियो ।
-onlinekhabar