बिरामीको भीड, भुइँमै राखेर उपचार


भरतपुर, श्रावण २८ - यहाँस्थित भरतपुर अस्पतालमा बिरामीकोे संख्या बढेसँगै बेड अभावमा भुइँमा राखेर उपचार भइरहेको छ । ५०० शय्याको अस्पतालमा दैनिक ७-८ सय बिरामी उपचारका लागि आउने गरेका छन् । यस वर्ष अघिल्ला वर्षको तुलनामा गर्मी बढेपछि बिरामीको संख्या बढेको हो ।
अस्पताल भर्ना हुने अधिकांश बिरामी सरुवा रोगका छन् । अस्पताल हाता बिरामीले भरिएको छ । गाउँगाउँ र तराईका विभिन्न जिल्लाबाट समेत उपचारका लागि बिरामी भरतपुर अस्पताल आउने गरेका छन् । 'अहिले वर्षात र गर्मीको समय छ,' अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर विजय पौडेलले भने, 'त्यसैले उपचार गर्न आउने सरुवा रोगका बिरामी बढी छन् ।' उनले बेड अभाव भएपछि भुइँमा राखेर भए पनि बिरामीलाई सेवा दिएको बताए । बिरामी हुनेमा ११ वर्षका बालबालिकादेखि ५० वर्ष उमेरका बढी छन् ।
अस्पतालमा बिरामीका लागि स्वास्थ्यकर्मी र औषधि पर्याप्त भएको अस्पतालले जनायो । जाडोको तुलनामा बिरामीको संख्या बढेका हुन् । जाडोमा भने दैनिक ५-७ सयसम्म बिरामी उपचारका लागि आउने गर्छन् । 'बिरामीको संख्या बढ्दो छ,' पौडेलले भने, 'जटिल खालका बिरामी त्यति साह्रो देखिएका छैनन् ।' ज्वरो, झाडापखाला, टाइफाइडका बिरामी बढी छन् । त्यस्तै सर्प डसाइका बिरामीको संख्यासमेत बढेको छ । 'यो अस्पताल सबैतिरका लागि केन्द्र छ,' डाक्टर पौडेलले भने, 'त्यसैले अस्पताललाई ५ सय क्षमताबाट बढाएर २ हजार क्षमताको बनाए मात्र बिरामीले उपचारमा सास्ती खेप्नु पर्दैन ।' उनले यसबारे माथिल्लो निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको बताए ।
आकस्मिक कक्ष अस्तव्यस्त पर्सा- बाहिर र भित्रबाट हेर्दासमेत नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्ष भव्य देखिन्छ । कक्षमा सानो अस्पताललाई पुग्ने स्टोर, कर्मचारी सुत्ने कोठा, शौचालय आदिको सुविधा पनि उपलब्ध छ । तर कुरुवा भने भुइँमै सुत्छन् । कुरुवामात्र नभई बेवारिसे बिरामी, अशक्त र वृद्ध पनि उपचार खोज्दै अस्पताल पुगे पनि कसैले चासो नदेखाएपछि चिसो भुइँमै सुत्न बाध्य छन् ।
सुविधासम्पन्न अत्याधुनिक आकस्मिक कक्षको भवन स्थानीय औद्योगिक घराना संघाई समूहले निर्माण गरेर करिब एक दशकअघि अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको थियो । सुरुका केही वर्ष कक्ष राम्रै चले पनि तीन-चार वर्षयता उक्त कक्ष आफैं बिरामी पर्दै गएको छ । अस्पताल प्रशासनको लापरबाहीका कारण कक्ष अस्तव्यस्त बनेको हो । कर्मचारीको लापरबाहीका कारण कक्षको सेवा दिन प्रतिदिन कमजोर बन्दै गएको स्थानीय साधुराम खड्गीले बताए । 
मध्य तराईको सबैभन्दा ठूलो र व्यस्त यो सरकारी अस्पतालको आकस्मिक कक्षमा सेवा चुस्त नभएको भन्दै बिरामीका आफन्तले अस्पताल कर्मचारीलाई हातपात समेत गर्ने गरेका छन् । कक्षमा अस्पताल प्रशासनले दैनिक पाँच एमबीबीएस चिकित्सक, ११ अहेव, एक स्टाफ नर्स, एक एड नर्स, आधा दर्जन पियन र चार स्वीपरको सिफट् ड्युटी खटाए पनि तीमध्ये सबै नियमित रूपमा ड्युटीमा बस्दैनन् । अन्य स्टाफको तुलनामा विशेष गरी अहेवहरू ढिलो गरी ड्युटीमा आउने, आइहाले पनि सबै अहेव एकैसाथ ड्युटीमा नबस्ने, पालैपालो सुत्न जाने र औषधि र नजिकका क्लिनिकमा गई काम गर्दै आएका छन् । उनीहरूले आफ्नो ड्युटी ह्यान्डओभर, टेकओभर नगर्ने र कक्षमा रहेको सामान बरबुझारथ समेत नगर्दा कतिपय सामान हराउने गरेको स्रोतले बतायो । तीन महिनायता मात्र यो कक्षबाट ३ नेबोलाइजर, ३ ब्लडप्रेसर परीक्षण उपकरण र ३ आला हराइसकेको छ ।
आकस्मिक कक्षका इन्चार्ज अबधकिशोरप्रसाद कलवार कक्षमा रहेको बेथितिको आरोप धेरै हदसम्म सही रहेको स्विकार्छन् । उनले आफूले अस्पताल प्रशासनलाई पटकपटक यो समस्याबारे अवगत गराइसकेको बताए । उनले यो समस्याबारे दुई पटक अस्पतालका मेसुको रोहवरमा बैठक सम्पन्न भई बैठकले कर्मचारीलाई आफ्नो आचरण सुधार्न निर्देशनसमेत दिइसके पनि समस्या जस्ताको तस्तै रहेको जानकारी दिए ।
कक्षमा ड्युटीको समयमा कर्मचारी नबस्दा दुर्घटना आदिका बिरामी एकैपटक धेरै आउँदा समस्या हुने गरेको छ । समयमै उपचार दिन नसक्दा स्वास्थ्यकर्मी बिरामीका आफन्तको सिकार बन्ने गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विके झाले अस्पतालमा आकस्मिक कक्षदेखि वार्डसम्म कर्मचारी अभाव रहेको बताए । उनले आकस्मिक कक्षका स्वास्थ्यकर्मीले अब्जरभेसनका रोगीलाई पनि हेर्नुपर्दा अभाव देखिएको बताए । यस्तो अवस्थामा अन्य कलेजबाट आउने विद्यार्थीले धेरै सहयोग गरेको उनले बताए ।
प्रसूति सेवा बन्द खोटाङ- जिल्ला अस्पतालमा प्रसूति सेवा बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । साउन सुरुबाट शल्यक्रियाको माध्यमबाट बच्चा जन्माउने -सीईओसी) सेवा बन्द भए पछि सेवाग्राही मारमा परेका हुन् । गम्भीर अवस्थाका प्रसूति बिरामी हेलिकप्टर चार्टर गरेर अन्यत्र जान बाध्य छन् । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले सहयोग बन्द गरेपछि सीईओसी पनि बन्द गर्नु परेको अस्पतालका चिकित्सक नवलकिशोर झाले बताए । सीईओसी गत ०६८ साल मंसिर १६ देखि सुरु भएको थियो । यस अवधिमा जिल्लाका ३२ गर्भवतीको शल्यक्रिया गरेर बच्चा जन्माइएको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।
चितवनको भरतपुर अस्पतालमा बेड अभाव भएपछि भुइँमा सुतेर उपचार गराउँदै बिरामी (बायाँ), पोखराको चिप्लेढुंगामा शनिबार आयोजित स्वास्थ्य शिविरमा सर्वसाधारणको भीड (माथि) र उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका बिरामीले भरिएको बेड ।