१२ वर्षदेखि दाम्लोमा

झापा को शान्तिनगर ५ स्थित गढीगाउँका १७ वर्षीय गजेन्द्र आचार्य । 


शान्तिनगर, झापा , श्रावण २८ - झापा को शान्तिनगर ५ का एक किशोरलाई अभिभावकले १२ वर्षदेखि दाम्लोले बाँधेर राख्दै आएका छन् । सुस्तमनस्थितिका १७ वर्षीय गजेन्द्र आचार्यलाई ५ वर्षको उमेरदेखि बाँधेर राख्न थालेको अभिभावकले बताएका छन् । पशुलाई झैं बाँधेर राखिएका उनी घरमा जाने जो कोहीले लगाएको चप्पल तानेर खान झम्टन्छन् ।
'दाम्लो फुकाइसक्दा चार पाउ टेकेर भए पनि भागिहाल्छ,' आमा तिलरुपाले भनिन्, 'त्यसैले नबाँधी धरै छैन ।' उनी छोरालाई घरमा बाँधेर ढोकासमेत थुनेर बनिबुतोका लागि जाने गरेकी छन् । गजेन्द्र जन्मेपछि पतिसमेत गुमाएकी तिलरुपाले अपांग छोरो स्याहारेको १७ वर्ष लाग्यो । आफैं सुस्तमनस्थितिकी उनले भनिन्, 'टुकुटुकु हिँड्न थालेदेखि बाँध्न सुरु गरेको हो ।' आर्थिक अवस्था अत्यन्त नाजुक भएका उनीहरू देवरका घरमा आश्रय लिएर बसेका छन् । देवर भीमनाथ आचार्यले इलामको लक्ष्मीपुरमा बस्दै आएका उनीहरू सहाराविहीन भएपछि झापा ल्याएर राखेको बताए ।
तिलरुपाका अनुसार अपांग छोरो रातभर निदाउँदैन । पशुको झैँ हाउभाउ देखाउँछ । दिसा, पिसाब बाँधेर छाडेकै ठाउँमा गर्छ । पैसा नहुँदा अहिलेसम्म अस्पतालसमेत पुर्‍याउन नसकेको उनी बताउँछिन् । 'के गर्नु हुन्छ, के हुँदैन भन्ने चेत नै छैन ऊसँग,' छिमेकी मातृका ढुंगानाले भने, 'चारपाउ टेकेर पशुझैं हिँड्छ ।'
गजेन्द्रको जन्मदर्ता नहुँदा हालसम्म अपांग भत्तासमेत पाउन सकेका छैनन् भने तिलरुपालाई विधवा भत्ता पाइन्छ भन्ने ज्ञान छैन । गत साउन १० गते हात्तीले घरमा आक्रमण गर्दा उनीहरू भाग्यले बाँचेका थिए । अघिल्लो दिन छिमेकबाट पैंचो ल्याएको दुई माना चामलमध्ये एक माना पकाएर र एक माना भोलिका लागि उनले साँचेर राखेकी थिइन् । तर विडम्बना त्यो चामल पनि हात्तीले खाइदिएको थियो ।