सुनसान स्ट्राटफोर्ड




अजय फुयाल, लन्डन, साउन ३०- विश्वभरका खेलाडी र खेलकर्मीलाई ३०औं गृष्मकालीन ओलम्पिकका लागि १७ दिन आतिथ्य प्रदान गरेको लन्डनको स्ट्राटफोर्डस्थित ओलम्पिक पार्कमा सोमबार स्वाभाविक चलहपहल थिएन।


 
आइतबार मध्यरातमा ओलम्पिक समापनको घोषणा नभएसम्म हरेक समय दसौंै हजारको भीड भोगेको स्ट्राटफोर्ड कुम्भ खेलमेलाको समाप्तिसँगै सुनसान बन्यो। जुलाई २७ देखि अगस्ट १२ सम्मको समयमा २० लाखभन्दा बढी खेलप्रेमीलाई ओलम्पिक पार्कले स्वागत गरेको आयोजकको तथ्यांकमा छ।
ओलम्पिककै लागि निर्मित स्ट्राटफोर्ड वेस्टफिल्ड सपिङ मलका पसलहरूमा सोमबार खासै भीड थिएन। ओलम्पिक पार्कको प्रवेशद्वारका रूपमा रहेको वेस्टफिल्डका सबै व्यापारी र कामदार एकाएक भएको सुनसानले नरमाइलो मानिरहेका छन्। 'संसारकै खेलकुदको ठूलो इभेन्टस आउन लाग्दा हामी ओलम्पिक पार्कमै भएकाले जति उत्साहित थियौं, अहिले सकिँदा त्यत्तिकै नरमाइलो लागिरहेको छ,' वेस्टफिल्डका एक व्यापारी निक ग्यान्डी भन्छन्, 'पछिल्लो तीन सातामा हामीले विश्वभरका मानिससँग कुराकानी गर्ने र मित्रता गाँस्ने मौका पाएका थियौं। यति ठूलो मेलापछिको सुनसान साँच्चै नरमाइलो हुँदोरहेछ।'
ओलम्पिक पार्क प्रवेशद्वारनजिकै रहेको सब-वे रेस्टुरेन्टका कामदार फहरान पनि ओलम्पिकपछि स्ट्राटफोर्डको माहोल नरमाइलो भएको बताउँछन्। ओलम्पिकको भीडभाड नहँुदा बेग्लै खालको नियास्रो अनुभव भएको बताउने उनी व्यापारमा पनि कमी आएको बताउँछन्। 'ओलम्पिक चलुन्जेल व्यापार निकै राम्रो थियो। जुनबेला पनि रेस्टुरेन्टमा भीडभाड हुन्थ्यो। अहिले यो क्षेत्रमा मानिसको चहलपहल नै कम भएकाले व्यापारमा पनि स्वाभाविक कमी आएको छ। हिजोसम्म काम गरेर फुर्सद नै हँुदैनथ्यो, आज काम नै छैन,' पाकिस्तानी मूलका उनले भने।
ओलम्पिकमा सुरक्षाकर्मीको भूमिका निर्वाह गरेका पाँचथरका किशोर सुनुवार भने ओलम्पिकमा नेपाली भेट्ने उद्देश्य पूरा भएकोमा निकै खुसी थिए। पछिल्लो दुई वर्षदेखि बेलायतमा काम गर्दै आएका उनी ओलम्पिकको सुरक्षा दस्तामा काम गर्न पाउँदा नेपाली सहभागी भेट्ने आशामा थिए। नेपालका हरेक खेलाडीको प्रदर्शनबारे जानकारी राखे पनि कसैलाई भेट्न नपाएका उनको इच्छा समापनको दिन पूरा भएको थियो। नागरिकसँग सोमबारको जम्काभेटमा उनले भने, 'हिजो बल्ल नेपाली भेट्न पाइयो। म जहिले पनि यहाँको दसौं हजारको भीडमा नेपालीलाई मात्र खोज्थेँ।'
ओलम्पिकको सुरक्षार्थ खटिन पाउनुलाई गौरवका रूपमा लिएका उनी पनि स्ट्राटफोर्डको चहलपहलबाट टाढिनुपर्दा खुसी थिएनन्। ओलम्पिकमा काम गरेर जीवनकालका लागि स्मरण साँच्न भ्याएका उनलाई यस्तो गौरवमय क्षण कहिल्यै नसकियोस जस्तो लागेको थियो। 'समय रोक्न सकिन्न। जेहोस मैले जीवनमै गौरव गर्न पाउने कामको अवसर पाएँ। पछिल्लो १७ दिन निकै उत्साहजनक रह्यो,' उनले भने।
ओलम्पिककै लागि ओलम्पिक पार्कमा कार्यरत स्वयम्सेविका रुपा उपाध्यायको अनुभव पनि अन्यको भन्दा फरक छैन। ओलम्पिक सकिएपछि स्ट्राटफोर्ड दुलही अन्माएपछिको विवाह घरका रूपमा परिणत भएको उनले बताइन्। 'अहिले दुलही अन्माएको घरजस्तो भएको छ। त्यसैले नरमाइलो हुनु स्वाभाविक हो। तर ओलम्पिकमा काम गर्न पाइयो, ओलम्पिकजस्तो ठूलो खेलमेलामा नेपालीको खेल हेर्न पाइयो। नेपाली दाजुभाइलाई भेट्न पाइयो। असाध्यै खुसी लागेको छ,' उनले भनिन्।