यसरी पक्राउ परे युनिटी अध्यक्ष




  • तीन अर्ब ७९ करोड ९८ लाख ७० हजार रुपैंया विगोको ठगी अभियोग

  • तीन अर्ब ७९ करोड ९८ लाख ७० हजार रुपैंया विगोको बैंकिङ कसुर अभियोग

  • राजस्व र आयकर छलेको अभियोगमा दुई अर्ब ५७ करोड रुपैंयाको मागदावी


    काठमाडौं, श्रावण १८ - उजुरी परेको दुई वर्षपछि युनिटी लाइफ इन्टरनेशनलका प्रमुखप्रसाद भनिने काशीराम गुरुङ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखा ललितपुरको संयुक्त टोलीले बुधबार बिहान पक्राउ गरेको हो । ललितपुर परिसरका एसएसपी राजेन्द्रमान श्रेष्ठले अरबौं रुपैयाँ ठगी गरेर फरार रहदै आएका गुरुङलाई पशुपतिनगरस्थित बजारबाट पक्राउ गरेको बताए ।
    स्रोतका अनुसार उनलाई भारतको दार्जिलिङको एक होटलबाट मङगलबार राति पक्राउ गरिएको हो । पक्राउ गर्न प्रहरी निरीक्षक अवदेश बिष्टको कमाण्डमा टोली खटेको थियो । राती नै गुरुङलाई पशुपतिनगर ल्याएर त्यहाँबाट झापाको चन्द्रगढिबाट प्लेन चढाएर काठमाडौं ल्याइएको हो । 'देशभरका अस्पतालमा उपचार छुट, लगायतका आश्वासन दिएर ठगि गरी फरार भएका थिए' एसएसपी श्रेष्ठले भने 'विरोध हुन थालेपछि भागेर भारतको नयाँ दिल्ली हुँदै दार्जिलिङ पुगेका रहेछन ।'
    युनिटी लाईफ इन्टरनेशनल स्थापनामा 'प्रसाद' उपनाम सम्बोधन गरिने काशी गुरुङको प्रमुख भूमिका थियो । पन्ध्र हजार रुपैंया तिरेर बनेका सदस्यहरुले मातहतमा थप सदस्य बनाउदा कमिसन पाउने र विमा, लाभांश लगायतका थप सुविधा दिने आकर्षक स्किम बनाएर सदस्यहरु नाटकिय ढंगले बढाउने रणनीति बनाएको थियो ।
    युनिटी प्रकरणवारे छानविनमा संलग्न प्रहरी उपरिक्षक विक्रमसिं थापाका अनुसार, समय अनुसार चल्न जानेको र जसरी पनि पैसा कमाउनुपर्छ भन्ने स्वभावका काशी गुरुङ हालसम्मकै ठूलो ठगी प्रकरणको 'ग्राण्ड डिजाईनर' हुन् । 'हामीले त्यतिबेला अनुसन्धान गर्दा उसकै योजनामा स्किमहरु देखाएर अबौं उठाएको भेटेका थियौं' उपरिक्षक थापाले कान्तिपुरसित भने, 'अनुसन्धानका क्रममा संकलन भएको र तर नभेटिएको करोडौं रकम गुरुङबाट अनुसन्धान गर्न खोज्न सकिन्छ ।'
    काशी पक्राउ परेपछि युनिटीले सदस्यहरुबाट संकलन गरेको तर हालसम्म नभेटिएको करोडौं रकमवारे थप जानकारी आउनसक्ने प्रहरीको अनुमान छ । युनिटीवारेको एक अनुसन्धान प्रतिवेदन अनुसार, करिव चार अर्बको हाराहारीमा रकम संकलन गरेको युनिटीको ठूलो परिमाणको रकमवारे अहिलेसम्म केही खुलेको छैन । राजस्व अनुसन्धान विभागका अनुसार संकलित रकमको ४० प्रतिशत हिस्सा पिरामिड शैलीमा थप सदस्य बनाउनेलाई बाडिएको छ । बाँकी रहेको ६० प्रतिशत अर्थात दुई अर्ब ४० करोड रुपैंयाको ठूलो हिस्सा भेटिएको छैन । 'केही करोडमात्रै जग्गा र अन्य क्षेत्रमा लगानी भएको हो' छानविनमा संलग्न विभागका एक अधिकारीले भने, 'बाँकी रकमको अत्तोपत्तो थिएन ।'
    जिल्ला अदालत ललितपुरमा काशीसहित उनको टिममाथि ठगी, बैंकिङ कसुर र राजस्व छलीका तीन मुद्दा विचाराधिन छन् । आर्थिक वर्ष २०६४/६५ देखि कारोवार थालेको युनिटीले २०६७ बैशाखसम्म तीन लाख ६६ हजार सदस्य बनाएको प्रहरीले जावलाखेलको युनिटी सर्वर छानविनका क्रममा भेटेको थियो । सदस्य शुल्क र संख्याको आधारमा करिव चार अर्ब रुपैंया ठगिएको प्रहरीले जनाएको छ ।
    देशका आधाभन्दा बढी जिल्लामा युनिटी सञ्चालक विरुद्ध ठगी मुद्दा दायर भएकाले विगोको एकमुष्ट विवरण प्रहरीले सार्वजनिक गर्न सकेको छैन । तर एकिकृत तथ्यांक अनुसार तीन अर्ब ७९ करोड उठाएको भेटिएको थियो । यसवाहेक राजस्व छलीको अर्को अभियोग समेत युनिटीयनहरुले खेपिरहेका छन्, जसमा राजस्व अनुसन्धान विभागले मात्रै दुई अर्ब ५७ करोड रुपैंयाको मागदावी सहित ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
    करिव १५ महिनामा छानविन पूरा गरेर गतवर्ष दायर अभियोगपत्रमा भ्याट, आयकर र कमिसनको आयकर गरी कुल ८५ करोड ८६ लाख रुपैंयाको करछली भएको उल्लेख छ । प्रहरीले अनुमतीविना बैंकिङ कारोवार गरेकाले तीन अर्ब ८९ करोड विगाको बैंकिङ कसुरको अभियोग पनि लगाएको छ । अभियोग प्रमाणित भए आरोपितहरुले तीन गुणा अर्थात दश अर्ब हाराहारीको जरिवाना, तीन वर्षसम्म कैद वा दुई सजाय भोग्नुपर्छ ।
    युनिटीका आरोपितमध्ये आईटी निर्देशक नेत्र राजवंशी, अर्थ निर्देशक भीम गुरुङ, डिपार्टमेन्ट स्टार निर्देशक इन्द्र विक, भीम खत्री, महाप्रबन्धक शिशिर योगी र मध्यमाञ्चल ग्रामीण विकास बैंकका प्रबन्ध निर्देशक रामदेव यादवसहित ४२ जना अभियोगमा पुर्पक्ष थुनामा छन् । प्रवन्ध निर्देशक विष्णु क्षेत्री, फिल्ड निर्देशक कृष्ण क्षेत्र सहित पाँच उच्च पदाधिकारी अझै फरार छन् । उनीहरुविरुद्ध प्रहरीले इन्टरपोलमार्फत् पक्राउ सूचना जारी गरेको छ । सञ्चालकले युनिटीबाट संकलित अबौं रकम नीजिस्तरमा प्रयोग गर्नुका साथै विनास्विकृती हाउजिङ, विमा, बैंकिङ लगायतका क्षेत्रमा लगानी गरेको थियो । यसवाहेक डिपार्टमेन्टल स्टोर, रियलस्टेट, हाउजिङ, साबुन उद्योग, बायोइनर्जी, हाईड्रोपावर र फिना नामको सहकारीमा समेत युनिटीको संलग्नता भेटिएको थियो । गृह मन्त्रालयद्वारा गठित छानविन आयोगले दर्जनभन्दा बढी अभियोगमा कारवाहीको सिफारिस गरेपछि अहिलेसम्म तीन अभियोगमा मात्रै युनिटी सञ्चालक विरुद्ध मुद्दा दायर भएको छ ।


    साभार : ईकान्तिपुर