जिमेलका पाँच नकारात्मक कुरा
![]() |
गुगलको इमेल सेवा जिमेल अहिले पनि विश्वमा सबैभन्दा बढी प्रयोगकर्ता भएको वेबमेल सेवा हो। यसलाई अरू इमेल सेवाभन्दा सुरक्षित तथा छरितो र आकर्षक मानिन्छ। त्यसैले होला, सन् २००७ को फेब्रुअरी ७ मा सर्वसाधारणका लागि सार्वजनिक भएको जिमेलका अहिले विश्वभर ४२ करोड ५० लाख सक्रिय प्रयोगकर्ता पुगेका छन्। हटमेल तथा याहुजस्ता वेबमेल सेवालाई पछि पार्दै जिमेलले लोकप्रियता कमाउँदै गएको छ। गुगलले जिमेलसँगै गुगल टकबाट प्रत्यक्ष कुराकानीको सुविधा तथा पछिल्लो समयमा सामाजिक संजालका रूपमा गुगल प्लस पनि ल्याएको छ। यद्यपि गुगलको जिमेल सेवामा केही त्यस्ता समस्या छन् जसले प्रयोगकर्तालाई दिक्क तुल्याउँछ। गुगल जिमेलका पाँच प्रमुख समस्याः
- कहिलेकाहीँ जिमेल दिक्कै लाग्ने गरी सुस्त हुन्छः उच्च क्षमताको इन्टरनेट कनेक्सन, कम्प्युटर तथा सपोर्टिभ ब्राउजर हुँदाहुँदै पनि कहिलेकाहीँ जिमेल लोड हुन निकै समय लाग्छ। इनबक्समा आएका म्यासेज हेर्न क्लिक गर्दा तथा डाउनलोड गर्दा कहिलेकाहीँ खुल्दै नखुल्ने तथा खुले पनि लामो समय लाग्ने समस्यासमेत देखा पर्छ। त्यस्तै जिमेलमा म्यासेज सर्च गर्दा चाहिएको कुरा भेट्टाउन लामै समय कुर्नुपर्ने हुन्छ।
- चित्त नबुझने नयाँ डिजाइनः गुगलले आफ्नो इमेल सेवा जिमेलको स्वरूपमा बेलाबेलामा नयाँपन ल्याउँछ र प्रयोगकर्तालाई नयाँ डिजाइनमा प्रवेश गर्न सन्देश दिन्छ। नयाँ डिजाइनमा खासगरी टेक्स बटनहरू द्विविधामा पार्ने खालका भएको प्रयोगकर्ताहरूको गुनासो छ।
- इमेल स्क्यान गर्दाः गुगलले प्रयोगकर्ताका इमेलहरू स्वचालित रूपमा स्क्यान गर्छ। यसो गर्दा गुगलले प्रयोगकर्ताका इमेलहरूबाट विभिन्न सूचना लिने र प्रयोगकर्ताको प्रकारअनुरूपका विज्ञापनहरू जिमेल पेजमा डिस्प्ले गरिदिन्छ। खासगरी आफ्नो व्यावसायिक फाइदाका लागि गुगलले जिमेल प्रयोगकर्ताका इमेलहरू अनावश्यक रूपमा चेकजाँच वा स्क्यान गरेर सूचना चोर्ने काम गरिरहेको बताइन्छ।
- अनावश्यक फिचरः गुगलले जिमेल प्रयोगकर्ताको इमेल अकाउन्टमा विभिन्न सन्देश पठाएर आफ्ना फिचर्सका बारेमा जानकारी पठाएर तथा त्यस्ता फिचर्स प्रयोग गर्न उक्साएर दिक्कसमेत लगाउँछ। टास्क तथा गुगल प्लसजस्ता सेवा तथा फिचर्समा जोडिन बारम्बार दिक्क लाग्ने गरी इमेल पठाउँदा प्रयोगकर्ताहरूलाई झ्वाँक नै चल्छ। खासगरी गुगल प्लसको ह्यांगआउटले धेरैलाई पिरोल्छ। धेरैले जिमेललाई केवल इमे लका लागि मात्र प्रयोग गर्न चाहन्छन्, आफ्नो अकाउण्टमा अनावश्यक कुरा थोपरिएको मन पराउँदैनन्।
- अफलाइन मोड केवल गुगल क्रोममा मात्रः गुगलले जिमेलमा अफलाइन मोडको अप्सन केवल गुगल क्रोमको ब्राउजर प्रयोग गर्न मात्र प्रदान गरेको छ। मोजिल्ला फाएरफक्स तथा इन्टरनेट एक्स्प्लोलर जस्ता ब्राउजरबाट जिमेल लगइन गर्नेहरूलाई त्यस्तो सुविधा दिइएको छैन। जिमेलको अफलाइन एक्स्टेन्सन अरू ब्राउजरहरूमा पनि उपलब्ध नहुँदा प्रयोगकर्ता सन्तुष्ट हुन सकेका छैनन्।
![]() |