हङकङमा नेपाली डन



यदि तपाईं हङकङमा हुनुहुन्छ र चेतन गुरुङका बारे कसैसँग सोध्नुभयो भने अधिकांशको जवाफ यस्तो हुनसक्छ, को ताइलो (डन) चेतन ?  उनलाई गुथाइएको पगरी हो यो चिनियाँ शब्द 'ताइलो' अर्थात् 'डन'। कतिपयलाई अपत्यारिलो पनि लाग्ला। कडा विधि-विधान र नियम- कानुनमा चल्ने मुलुकमा पनि 'नेपाली डन' ? कमिसन, हप्ता असुली, गुण्डागर्दीजस्ता क्रियाकलापमा उनको समूह नेपालदेखि हङकङसम्म  सक्रिय रहँदै आएको आरोप छ। चेतनको साँठगाँठ नेपालका नामुद डनहरूदेखि स्थानीय चिनियाँ दादाहरूसँग रहेको दाबी गर्छन् नजिकबाट  चिन्नेहरू। हङकङेली नेपाली समाजमा आफ्नो अलग चिनारी बनाएका ३४ वर्षीय चेतनले हङकङ विधान परिषद्को निर्वाचनमा उम्मेदवारी  दर्ता गरेपछि यतिबेला उनको चर्चा एकाएक चुलिएको छ। सेप्टेम्बर ९ मा हुने निर्वाचनमा उनले चिनियाँहरू सम्मिलित सात सदस्यीय  स्वतन्त्र प्यानलबाट मनोनयन दिएका हुन्। धेरैलाई कौतूहल छ, सधैं प्रहरीको निगरानीमा रहेको भनिएका यी डनले कसरी विधान परिषद्जस्तो  उच्च मर्यादित पदका लागि उम्मेदवारी दिनसके ? चेतन गुरुङसँग साप्ताहिक प्रतिनिधि निर्मल श्रेष्ठले हङकङमै गरेको कुराकानीः



तपाईलाई धेरैले ताइलो (डन) भनेर चिन्छन्, के तपाई साँच्चिकै डन हो ?

अल्लारे उमेरमा कुनै समय जाँडरक्सीको तालमा झै-झगडामा मारपिट गरियो होला, तर ती पनि सुनियोजित थिएनन्। यद्यपि नजिकबाट  नचिन्ने कतिपयमा आजसम्म त्यही छाप छ। मलाई मन नपराउनेहरूले पनि यस्ता हल्ला चलाइरहेका हुन्छन। संघसंस्थामा लागेर सामाजिक  क्रियाकलापमा खुलेर संलग्न मान्छे कसरी डन हुनसक्छ ? यस्तो कुरा सुन्दा अत्यन्तै दुःख लागेर आउँछ। 

मारपिट गरेकै भरमा मात्र तपाईंलाई डन भनेका होलान् त ?

पहिले मारपिटकै कारण हङकङमा मेरो नाम चल्यो, तर ती सबै गलत बाटा त्यागेर म राइजिङ नेपाल नामक संस्थामार्फत सामाजिक कार्यमा  संलग्न छु। यसैका कारण मेरो चिनचान स्थानीय चिनियाँ र अन्य अल्पसंख्यक समुदायसँग बढ्यो। कतिपय आफ्ना समस्या लिएर आउनुहुन्छ।  पीडित पक्षको वकालत गर्दा अर्कोले अझै डन नै सम्झन्छन्। कतिपयले मेरो नाम भजाएर हङकङदेखि नेपालसम्म धम्क्याउने, पैसा असुल्ने  गरेको प्रमाणसमेत भेटेको छु, जसमा मेरो कुनै संलग्नता रहँदैन। मलाई भेट्नेहरू तपाईंका बारेमा त नराम्रो सुनेको थिए, भेट्दा निकै  भलादमी लाग्यो पनि भन्छन्। हल्ला र अनुमानका पछि दौडनेहरूले मात्र मलाई डनका रूपमा बुझेका छन्। 

पीडित पक्षको वकालत गर्न त न्यायालय नै छ नि ! तपाई किन अघि सर्नुपर्ने ?

कतिपयलाई कहाँ के कसरी उजुरी गर्ने भन्ने थाहा हुँदैन। एउटा संस्थाको अध्यक्ष भएका नाताले मसँग सोधपुछका लागि आउनु स्वाभाविक हो।  पहिले सरसल्लाहमा कुरा मिलाउने प्रयास गर्छु, भएन भने मैले पनि कानुनी बाटो नै देखाउने हो। हङकङजस्तो विधि विधानमा चल्ने देशमा  अरू के नै गर्न सकिन्छ र ?

आजभोलि जमानामा बिना फाइदा पीडितको वकालत गर्छु भनेर कसले पत्याउने ? 

हामी काम गरेबापत फाइदा चाहियो भन्दैनौ। अब कसैले राजीखुसीले हाम्रो कार्यक्रम वा संस्थालाई सहयोग गर्न चाहनुहुन्छ भने त्यो बेग्लै  कुरा हो। यसैलाई बङ्ग्याएर कमिसनका लागि काम गर्छ भनिदिन्छन्। 

नेपालमा कहलिएका मिलन गुरुङ (चक्रे) हरूसँग तपाईको साँठगाँठ छ रे हो ?

मेरो उहाँहरूसँग मात्र होइन नेता, कलाकार, प्रहरी, विद्वान्, सर्वसाधारण सबैसँग चिनजान छ। मिलन दाइकी दिदी हङकङमा हुनुहुन्छ। म  तिहारमा उहाँको हातबाट टीका लगाउँछु। त्यसैले पनि पारिवारिक चिनजान हुने नै भयो। कुमार घैंटे, साजन महर्जन मेरा सानैदेखिका साथी  हुन्। पूर्ण गुरुङ दाइ पर्नुहुन्छ। कसैको निधारमा डन भनेर लेखिएको त हुँदैन नि। उहाँहरूसँग मेरोजस्तो चिनचान धेरैको होला। कुनै डनका  आपराधिक क्रियाकलापमा मेरो संलग्नता रहेको पुष्टि भए साँठगाँठको कुरा गर्नु जायज होला, नत्र चिनजान हुँदैमा कसरी आरोप लगाउन  मिल्छ ?

मिलन गुरुङ (चक्रे) हङकङ आउने तयारी गर्दागर्दै भैरहवामा समातिएका थिए, तपाईंले निम्तो दिनुभएको हो ? 

हङकङ आउने भन्ने मलाई जानकारी थियो तर मेरो निम्तो होइन। त्यसअघि पनि उहाँ पारिवारिक भेटघाटका लागि हङकङ आउनुहुन्थ्यो। 

यो पनि होइन त्यो पनि होइन भन्नुहुन्छ, त्यसो भए तपाईंलाई डनको बिल्ला बेफ्वाँकमा भिराइदिएका हुन् त ?

एक दशकअघि अन्जानमा भएका गल्तीका कुरा उठाएर मलाई मन नपराउनेहरूले चलाएको हल्लामात्र हो यो। त्यतिबेला गरेका गल्तीले कसै लाई मर्का परेकी भए म माफी चाहन्छु। हो अहिले म सबैकुरा बुझेर अन्यायमा परेकाहरूको पक्षमा बोल्छु। पीडितको पक्षमा वकालत गर्दा  कसैले डन भन्छ भने म डनै हुँ। अब तपाई आफैं जज गर्नुस्, यदि म साँच्चिकै डन हुन्थें भने विधान परिषद्जस्तो गरिमामय पदमा उम्मेदवार  बन्न सक्थें ? पुलिस प्रशासनमा मेरो रेकर्ड क्लिन भएकैले मेरो उम्मेदवारी स्वीकृत भएको होइन र ? यो त सामान्य मानिसले पनि बुझ्ने  कुरा हो। डन हुने भए ५ मिनेटमा पुलिस आइसक्ने ठाउँमा १५ वर्षसम्म कुनै न कुनै अपराधमा मलाई जेल कोचिसक्नुपर्ने हो नि, किन  नसमातेको त ? यो सब मेरो प्रगति देखेर डाह गर्नेहरूले चलाएका हल्ला हुन्। 

त्यसो भए प्रहरी खोरमा पर्नुभएकै छैन ?

परेको छु। कसैले अनावश्यक पोल लगाएका भरमा सोधपुछका लागि लगिएको थियो, जसमा मेरो कुनै कसुर थिएन। 

नेपालका डनहरूले अवैध आर्जन गरेर करोडौंको सम्पत्ति थुपारेको सुनिन्छ। तपाईंको सम्पत्ति कति छ ?

मेरो अवैध केही छैन। संगोलमा बार, रेस्टुराँ, इम्पोर्ट-एक्स्पोर्ट आदि व्यापार-व्यवसाय गरिरहेको छु। परिवार एवं बालबच्चाको जीविका राम्रैसँग  चलिरहेको छ। 

तपाईंले हाक्ने 'बीएमडब्लु' कार चोखो कमाइकै हो त ?

नितान्त चोखो। अब भन्नेले त अनेक भन्छन् नि। 

नेपालका डनहरू आफ्ना कर्तुत छोप्न राजनीतिमा लाग्ने गरेको आरोप छ। त्यसैको सिको त गर्नुभएको होइन ? 

हङकङजस्तो नियम-कानुनमा चल्ने मुलुकमा राजनीतिज्ञ भन्दैमा गैरकानुनी काम गर्न छुट होला ? यी सब वाइयात हल्ला हुन्। मेरो कसैसँग व्यक्तिगत रिसईबी छैन् तर कुनै मान्छेले मसँग सहयोग माग्न  आयो र ऊ राइट छ भने मात्र म अघि बढ्छु। अब पीडितको पक्षमा राम्रो बोलिदिँदा अर्कोलाई त मर्का पर्ने नै भयो। मैले गरेका राम्रा  कामकुराका बारेमा मानिसहरू किन चर्चा गर्दैनन त खोइ ? 

के राम्रा काम गर्नुभएको छ ?

पहिले म पनि जाँडरक्सी खान्थें, चुरोट पिउँथे। अहिले सबै छोडेर एन्टीड्रग्समा लागेको छु। मैले गरेको गल्ती अहिलेका भाइबहिनीले नदोहो र्‍याउन भनेर व्यक्तिगत खर्चमा क्लब खोलिदिएको छु। म आफैं पनि तेक्वान्दो खेलाडी भएकाले स्पोर्टसमा लागे युवाहरू अनुशासित हुन्छन्  भन्ने मेरो बुझाइ छ। अब भन्नेहरूले त स्पोर्ट्समा लगाएर युज गर्छ पनि भन्लान् नि। म बस्ने क्षेत्र युङ लङमा अहिले ड्रग एडिक्ट नेपाली  युवाहरूको संख्या निकै कम छ। युवाहरूलाई कुलतबाट छुटाउन समेत हामी सक्रियतापूर्वक लागेका छौँ। निरन्तर सांगीतिक कार्यक्रमको  आयोजना गर्छौ। कलाकार र दर्शक-श्रोतालाई एक-अर्काबीच नजिक्याउने राम्रो अवसर भएको छ यो। स्वदेशमा मात्र होइन, भारतका ने पालीभाषीहरूलाई समेत कार्यक्रममा बोलाएर थप हौसला दिएका छौँ। 

आउन नचाहने कतिपय कलाकारलाई धम्क्याएर भए पनि बोलाउनुहुन्छ रे नि ?

साँचो के हो भने डन भन्ने हल्लाका कारण कतिपय निम्तो दिँदा पनि तर्कनुहुन्छ। त्यस्तोमा वास्तविकता यस्तो हो भनेर बुझाउने मात्र हो।  हाम्रो निम्तोमा दर्जनौं कलाकारले हङकङ भ्रमण गरिसक्नुभएको छ। मदनकृष्ण-हरिवंश तीन चारपटक आइसक्नुभयो के उहाँहरूलाई पनि  धम्क्याएरै बोलाइएको होला त ? हाम्रा शोमा एक महिनाअघि नै टिकट सकिन्छन्। सधैं हाउस-फुल हुन्छ। स्तरीय कार्यक्रम गरेकैले त यो  भएको हो। 

राजनीतिमा कसरी रुचि बढ्यो ?

सामाजिक क्रियाकलामा सक्रिय रहँदै आएपछि स्थानीय चिनियाँसँगै भारतीय, पाकिस्तानी आदि अल्पसंख्यक समुदायसँग चिनजान बढ्यो। मैले  आफै उठन चाहेको थिइनँ, तर हाम्रा नेताले म नै उठनुपर्छ भनेर कर गरेपछि राजनीतिमा होमिएको हुँ। भित्री चाहना त थिएन। हङकङमा  अल्पसंख्यकका हक-अधिकारका कुरा सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पुग्न सकेको छैन। सरकार र समुदायबीच पुलका रूपमा काम  गर्ने मेरो प्रयास रहनेछ। कुनै बेला हङकङमा पनि अरू मुलुकजस्तो जातीय दंगा नहोस भन्ने चाहन्छौ हामी।

चुनाव जितिएला त ?

जितिन्छ भन्ने लागेरै उम्मेदवारी दिएको हुँ। नत्र व्यापार व्यावसाय छाडेर किन यसमा लाग्नु ? 'थर्ड फोर्स' नाम दिइएको हाम्रो स्वतन्त्र  प्यानलमा मबाहेक अन्य छ जना चिनियाँ छन्। त्यसमध्येका पाँचले यसअघि डिष्ट्रिक्ट काउन्सिलरको चुनाव जितिसकेकाले पनि राम्रो  परिणामको आशा गरेका छौँ। प्यानलमा सबैको एउटै चुनाव चिन्ह हुने भएकाले मैले नेपालीको भोटको मात्र भर पर्नुपर्नेछैन। युङ लङ न्यू टे रिटोरिज बेस्टको उम्मेदवारका रूपमा मैले नेपालीबाहेक अन्य अल्पसंख्यक समुदायबाट समेत भोट पाउने अपेक्षा गरेको छु।

राजनीति नै गर्ने भए डिएबी, डेमोक्रेटिकजस्ता ठूला दलमा नलागेर किन स्वतन्त्र समूहमा ?

ठूला दलभन्दा पनि हामी नेपाली र समग्र अल्पसंख्यकहरूका पक्षमा जसले सही कार्य गर्छ उसैको पक्षमा लाग्नुपर्छ भन्ने मेरो मान्यता हो।  स्वतन्त्र भए पनि हाम्रो प्यानलका नेताहरूको अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण फरक छ। कुन पार्टीको सिद्धान्त नराम्रो छ र ? कागजमा त सबै  राम्रै छन्। ठाउँमा पुगेर नगरेपछि कसको के लाग्छ ? त्यसैले पार्टीभन्दा पनि म व्यक्ति हेरेर लागेको हुँ।