सुडानी धावकले ओलम्पिक झण्डामुनि खेल्ने
![]() |
लन्डन, साउन ७ (एजेन्सी)- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले हालको दक्षिणी सुडानमा जन्मेका एक म्याराथन धावकलाई ओलम्पिक झन्डामुनि लन्डन ओलम्पिकमा सहभागिता जनाउने स्वीकृति दिएको छ।
अमेरिकामा रहँदै आएका धावक गुर मारियललाई स्वतन्त्र धावकका रुपमा ओलम्पिक झन्डामुनि खेल्न आइओसीको शनिबार बसेको बोर्ड बैठकले अनुमति दिएको थियो।
कुनै देशको पासपोर्ट नभएका मारियल कुनै देशको ओलम्पिक कमिटीका प्रतिनिधि पनि होइनन्। गतवर्ष मात्र सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानमा जन्मेका कारण उनी ओलम्पिक झण्डामुनि खेल्न बाध्य भएका हुन्। दक्षिणी सुडानमा अझैसम्म राष्ट्रिय ओलम्पिक कमिटी छैन। शरणार्थीका रूपमा सानै उमेरमा अमेरिका पुगेका कारण उनीसँग कुनै देशको राहदानी पनि छैन।
२०११ मा २ घन्टा १४ मिनेट ३२ सेकेन्डमा म्याराथनको दुरी पूरा गर्दै ओलम्पिकलाई छानिएका मारियलले टाइमिङमा थप सुधार गरेको बताइएको छ। ओलम्पिक खेलकुदको इतिहासमा बिना राष्ट्रियता कुनै खेलाडीले सहभागिता जनाउन लागेको यो पहिलो अवसर भएको आइओसी प्रवक्ता मार्क एडम्सले बताएका छन्।
![]() |