उत्पादित वस्तुलाई एक, तीन र पाँच तारे वर्गीकरण
![]() |
विष्णु पोखरेल, काठमाडौं, साउन ७- सरकार र निजी क्षेत्रको सहकार्यमा सञ्चालित 'एक गाउँ एक उत्पादन'(ओभिओपी) कार्यक्रममार्फत उत्पादित वस्तुलाई गुणस्तरका आधारमा तीनथरी वर्गीकरण गरिने भएको छ।
ओभिओपी उत्पादनलाई एक, तीन र पाँच तारे वर्गीकरण गरिने भएको हो। उत्पादन प्रकृया, उत्पादन स्थल, प्रयोग गरिएका कच्चा पदार्थदेखि उत्पादित वस्तुको गुणस्तर हेरेर यस्तो वर्गीकरण हुनेछ। यसका लागि सरकार र निजी क्षेत्र सम्मिलित गुणस्तर निर्धारण समितिले मापदण्ड बनाइसकेको छ।
'हामीले मापदण्ड तयार गरि समितिबाट पास गराइसक्यौं' समितिकी संयोजक एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामाले भनिन्, 'अब यसलाई कार्यन्वयन गर्न थाल्छौ।' सार्वजनिक-निजी-साझेदारी(पिपिपी) अवधारणमा सञ्चालित कार्यक्रमका उत्पादनको गुणस्तर प्रत्याभुती गर्न यस्तो वर्गीकरण गर्न लागिएको हो।
ओभिओपी उत्पादनलाई गुणस्तरका आधारमा एक, तीन र पाँच तारा दिइने उनले बताइन्। यस्ता उत्पादनको सरकारी र निजी क्षेत्रका प्राविधिकहरु सम्मिलित समितिले निरिक्षण, प्रमाणिकरण र परीक्षण पश्चात वर्गीकरण गर्नेछ। एक तारा पाउने उत्पादनले पहेलो रङको स्टिकर प्याकेटमा टास्नुपर्नेछ।
तीनवटा तारा पाउनेले भने निलो रङको र पाँच तारा पाउने उत्पादनले भने हरियो रङको स्टिकर लगाउनुपर्नेछ। तोकिएको न्यूनतम मापदण्ड पुरा गर्ने उत्पादनले एउटा तारा पाउने छन्। यस्ता उत्पादन स्थानिय बजारमा बिक्रीका लागि उपयुक्त हुनेछन्। तीनवटा तारा पाउने उत्पादन भने राष्ट्रिय स्तरमा बिक्रीका लागि उपयुक्त मानिने छन्।
पाँच तारे उत्पादन भने निर्यातका लागि उपयुक्त हुनेछन्। यस्ता उत्पादनले निर्यातका लागि आवश्यक पर्ने सबैखाले मापदण्ड पुरा गर्नुपर्ने छ। जापानबाट सुरु भएको ओभिओपी अवधारणामा उत्पादित सामग्रीलाई त्यहाकै वर्गिकरणलाई आधार मान्दै नेपालमा पनि मापदण्ड बनाइएको हो।
ओभिओपी उत्पादनलाई जापान, थाइल्यान्डलगायतका मुलुकले पनि तारा दिएर गुणस्तर वर्गिकरण गरिरहेका छन्। 'हामीले ओभिओपीमा सफल मानिएका जापान र थाइल्यान्डकै अवधारणमा यस्तो वर्गिकरण गर्न लागेका हौ,' ओभिओपी कार्यक्रम संचालन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र(एइसी)का कार्यकारी निर्देशक प्रदीप महर्जनले भने।
तारा दिएर वर्गीकरण गरेपछि ग्राहकले सजिलै उत्पादनको गुणस्तर पहिचान गर्न सक्नेछन्। 'ताराका आधारमा होटलको सेवा सुविधा छुट्टिए जस्तै उत्पादनको गुणस्तर थाहा हुनेछ,' कार्यकारी निर्देशक महर्जनले भने
ओभिओपी कार्यक्रम अन्तर्गत अहिले ११ जिल्लाबाट ७ प्रकारका सामग्रीको व्यवसायीक उत्पादन भइरहेको छ। यो कार्यक्रम अन्तर्गत रेम्बो ट्राउट, वेल जुस, लप्सी क्यान्डी, जुनार, नेपाली कागज, सिम्बेडियम अर्किड र कफी उत्पादन भई बजारमा आएको छ। कृषिमा आधारित पर्यटन पनि ओभिओपी अन्तर्गत सञ्चालन भइरहेको छ।
कार्यक्रम अन्तर्गत उत्पादित सामग्रीमध्ये कफी बाहेकका सामग्री निर्यात हुन सकेका छैनन्। महर्जनले लप्सी क्यान्डी निकासीको सम्भावना रहेको बताए। 'यो वर्गीकरणमा लप्सी क्यान्डीले पाँच तारा पाउने सम्भावना छ,' उनले भने, 'अधिकांश उत्पादन तीन तारे गुणस्तरका छन्।' गुणस्तर निर्धारण गर्नका लागि समितिका सदस्यहरुले विभिन्न उत्पादन स्थलको स्थलगत अध्ययन समेत गरेका थिए।
उत्पादित वस्तुले तारा चिह्न लिनलाई गुणस्तर परीक्षण, प्याकेजिङ, उत्पादन र प्रशोधन प्रकृयालगायतमा तोकिएको गुणस्तर पुरा गर्नुपर्ने छ। यसले ओभिओपी उत्पादनको प्रतिष्पर्धात्मक क्षमता बढाउनुका साथै निर्यातको ढोका खोल्ने महर्जनले बताए।
सरकार र निजी क्षेत्रको साझेदारीमा नेपालमा २०६३ सालदेखि ओभिओपी कार्यक्रम सुरु भएको हो। ओभिओपी अन्तर्गत भक्तपुरमा लप्सी, रामेछाप र सिन्धुलीमा जुनार, नुवाकोटमा रेम्बो ट्राउट, बर्दिया र सिराहामा बेल, ललितपुरमा सिम्बेडियम अर्किड, दोलखामा लोक्ता र स्याङ्जामा कफी उत्पादन भइरहेको छ। कास्कीको लेखनाथमा भने कृषिमा आधारित पर्यटन सुरु गरिएको छ। १४ वटै अञ्चलका कम्तिमा एक-एक जिल्लामा ओभिओपी कार्यक्रम लागू गर्ने लक्ष्य राखिएको छ।
![]() |