ज्ञानोदय अन्तिम चरणमा छनोट


काठमाडौं, साउन ७ (नागरिक)- कोकाकोला अन्तर विद्यालय राष्ट्रिय छात्र फुटबलको अन्तिम चरणमा छनोट हुने ज्ञानोदय बोर्डिङ स्कुल मध्यमाञ्चलको तेस्रो टोली बनेको छ। सानो चरणमा शनिबार समूह 'ग' को फाइनलमा श्रमिक शान्ति स्कुललाई ४-०ले हराउँदै ज्ञानोदय छनोट भएको हो। ज्ञानोदयको जितमा रोशन श्रेष्ठले ह्याटि्रक गरे। निर्भिक सिंहको गोलबाट सातौं मिनेटमा अग्रता लिएको ज्ञानोदयबाट रोशनले ९, ४१ र ७०औं मिनेटमा गोल गरेका थिए।


 
सिद्धार्थ वनस्थली र विट्स एकेडेमीमध्ये एक मध्यमाञ्चलबाट छनोट हुने चौथो तथा अन्तिम टोली बन्नेछ। वनस्थली इन्स्टिच्युटले एम्स इन्टरनेसनललाई १-० र विट्सले रिडमोडललाई ३-१ ले हराउँदै समूह 'घ' को फाइनल भेट पक्का गरेका छन्। सिद्धार्थको जितमा एकमात्र गोल विकास प्याकुरेलले ४८औं मिनेटमा गरे।
विट्सबाट सविन महर्जन, सुविन श्रेष्ठ र आकाश सिंजाली मगरले गोल गरे। रिडबाट अर्जुन दुराले एक गोल फर्काए।

समूह 'क' बाट सैनिक महाविद्यालय र समूह 'ख' बाट पाथ फाइन्डर छनोट भैसकेका छन्। पाँच विकास क्षेत्रबाट छनोट भएर आउने १२ टोलीले अन्तिम चरणमा प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।