गण्डकमा बस खस्दा ३५ को मृत्यु


परासी, असार ३१ - भारतीय सीमा क्षेत्रमा रहेको नवलपरासीको झुलनीपुरबाट त्रिवेणी तर्फ जाँदै गरेको यात्रु बाहक बस गण्डक नहरमा खस्दा ३५ जनाको निधन भएको छ ।
लु१ख २३५६ नम्बरको उक्त बस त्रिवेणी सुस्ता गाविसस्थित भारतीय पश्चिमी मुल नहरमा खसेको हो । बसको छतमा समेत गरी सयभन्दा बढी यात्रु रहेको जनाइएको छ । अहिलेसम्म ३५ जनाको शव भेटिएको प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले जानकारी दिए । भेटिएको शव २४ पुरुष, १० महिला र १ बच्चाको छ । दुर्घटनामा थप हताहतको आशंका गरिएको छ ।
बसमा अधिकांश त्रिवेणीधाममा आउन लागेका बोलबमका भारतीय तिर्थयात्रुहरू थिए । नहरमा थप व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको एसपी शाहले बताएका छन् । १२ जनाबढी घाइते अवस्थामा भेटिएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  नहरको पानी सुकाएर पनि उद्दारको कामलाई अगाडि बढाइएको छ । थप विवरण आउन बाँकी रहेको छ ।