कन्डमबिना काम गर्न नपाइने
|
अमेरिकाको लस एन्जेलस सहरमा नीलो चलचित्रमा काम गर्ने युवा-युवतीहरूले अनिवार्य रूपमा कन्डम लगाउनुपर्छ कि पर्दैन भन्ने विषयमा त्यहाँका बासिन्दाहरूले मतदान गर्ने भएका छन्। समाचार एजेन्सीहरूका अनुसार कन्डम नलगाई नीलो चलचित्रमा काम गर्दा एड्स तथा एचआईभीजस्ता घातक रोग सर्ने सम्भावना प्रबल भएकाले कन्डम अनिवार्य गराउनुपर्ने विषयमा लस एन्जेलसका मेयर आन्टोनियो भिल्लाराइगोसोले आगामी नोभम्बर महिनामा त्यहाँका जनताले मतादानबाट आफ्नो अभिमत जाहेर गर्नुपर्ने निर्णय गरेका थिए। त्यहांका थुप्रै नीलो चलचित्र बनाउने कम्पनी एड्सको संक्रमणका कारण बन्द भएपछि यो विवाद उत्पन्न भएको हो।
मतदानपश्चात् कन्डम अनिवार्य गरिने नियम पारित भए त्यसरी कन्डमबिना काम गराउने कम्पनीको लाइसेन्ससमेत खारेज हुनेछ। उता त्यस्ता चलचित्र बनाउने कम्पनीहरूले भने लस एन्जेलसबाटै अन्त जाने धम्की दिएका छन्। बेलायती पोर्नकलाकार केइरन ली बीबीसीसँग कुराकानी गर्दै भन्छन्- कुनै पनि दर्शकले कन्डम लगाएका कलाकारलाई चलचित्रमा हेर्न चाहँदैनन्, तर एड्सविरुद्ध जनचेतना जगाउने अधिकारकर्मीहरू भने यसरी कन्डम लगाउनैपर्ने कानुन बनेपश्चात् त्यसमा काम गर्ने कलाकारको स्वास्थ्य मात्र सुरक्षित हुँदैन त्यसले दशर् कहरूलाई समेत प्रेरित गर्नेछ भन्छन्।
|




