बालिकाहरूले देखाए प्रतिभा
|

टर्कीमा असोजको पहिलो साता हुने लिटिल मिस वल्र्ड प्रतियोगितामा सहभागिताका लागि प्रारम्भिक चरणको छनौटअन्तर्गत बुटवलमा ट्यालेन्ट शो सम्पन्न भएको छ। रुपन्देही उद्योग संघको हलमा खचाखच दर्शकमाझ शनिबार सम्पन्न ट्यालेन्ट शोमा प्रतियोगिताका लागि छनोट भएका ८ देखि १३ वर्ष वर्ष उमेरका ४४ जना बालिकाले थरीथरीका नृत्य, गायन र विभिन्न जनजातिका परम्परागत पहिरन प्रस्तुत गरेका थिए।
कार्यक्रममा सन्ध्या, अबिना, सिमोना, सुजु, रचना र हुमकलाले लोक, आधुनिक र चलचित्रका गीत गाएर सहभागीलाई मन्त्रमुग्ध पारे भने प्रतीक्षा, प्रिया, मुस्कान, कृति, सुस्मिता, सविता, प्रशंसा, नीलम, करिश्मा, नितिका, अनु, दिया, अदीति र सिल्भी आदिले लोक-सांस्कृतिक, हिपहप, बी-बोइङ र रिमिक्स नृत्य गरेर पर्याप्त मनोरन्जन प्रदान गरे भने कतिपयले कविता, मुक्तक र गजल वाचन गरेका थिए। दिनेश दे वकोटाको कोरियोग्राफी रहेको प्रतियोगिताको बुटवलको अन्तिम प्रतिस्पर्धा साउन २२ गते गरिने र उत्कृष्ट तीन जनालाई भदौको पहिलो साता काठमाडौंमा हुने ग्रान्ड फाइनलका लागि छनौट गरिने आयोजक ई-फोर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक दीपक घिमिरेले साप्ताहिकलाई बताए। विराटनगर, दाङ, भैरहवा र पोखरामा प्रारम्भिक छनौट सम्पन्न भैसकेको छ।
|



