ज्यान हाजिर छ
|
चारजना युवक र तीन जना युवती एउटै कलेजमा अध्ययन गर्छन्। उनीहरूको ध्यान अध्ययनमा भन्दा प्रेम र मोजमस्तीमै केन्द्रित छ। ती सातै जनाले अन्ततः एउटा घटनापछि मानवीय जीवनका मूल्य-मान्यताहरू बुझ्छन्। त्यसपछि उनीहरूले सामाजिक जिम्मेवारीबोध गरेर आफूलाई सुधार्छन्। निर्देशक बद्री अधिकारीका अनुसार आज शुक्रबार देशभरिका मुख्य सहरहरूमा एकसाथ सार्वजनिक हुन लागेको 'ज्यान हाजिर छ' सन्देशमूलक मनोरञ्जनात्मक चलचित्र हो। रंग फिल्म्स एन्ड टिभी क्रिएसनले निर्माण गरेको यो चलचित्रमा सुदर्शन श्रेष्ठ र निर्देशक अधिकारीकै लगानी छ भने उनीहरू नै चलचित्रका लेखक पनि हुन्।
एकैपटक छ जना नयाँ अनुहारलाई 'डेब्यु' गराउन लागिएको चलचित्र 'ज्यान हाजिर छ' मा नायिका बेनिशा हमालसहित प्रसन्न गोपाली, विकास चापागाईं, राज लामा, सुशील श्रेष्ठ, काजल खड्का र जुनु श्रेष्ठको मुख्य भूमिका छ। यो चलचित्रमा सत्य-स्वरूप, सुगम पोखरेल तथा सूर्य दयालुको संगीत सुन्न सकिन्छ। सानुकुमार महर्जनले द्वन्द्व निर्देशन तथा राजेश केसी, दीपेन्द्र तिमल्सिना र राजेन्द्र राईले नृत्य निर्देशन गरेको चलचित्र 'ज्यान हाजिर छ' को छायांकन रामशंकर प्रधानले गरेका हुन्। एक वर्षअघि सम्पूर्ण छायांकन काठमाडौं उपत्यका भित्रै गरिएको चलचित्रमा राजेश हमाल विशेष भूमिकामा देखा पर्छन्। हमाललाई चलचित्रको प्रचार सामग्रीमा उपयोग गरिएको छैन। चलचित्रका निर्देशक तथा निर्माता अधिकारी अहिलेकी चर्चित नायिका केकी अधिकारीका बाबु हुन्। त्यसैले पनि नायिका केकी यो चलचित्रको प्रचार- प्रसारमा जुटेकी छिन्।
|




