आकाशे पानीको भर

मनोज अधिकारी, पोखरा, साउन २- तालैतालको शहर भने पनि पोखराबासी अहिले दैनिक जीवनयापनका लागि आकाशे पानीको भर पर्न बाध्य भएका छन्। सेती नदीको बाढीले गत शुक्रबार खानेपानीको पाइप बगाएपछि पोखराबासी पानीको चरम संकट झेल्दै आकाशे पानीमा निर्भर भएका हुन्। 
 
मर्दीखोलाबाट ल्याएको पानीको पाइप गत शुक्रबार बाढीले पुरनचौरस्थित सेती र मर्दीको दोभान नजिक बगाएपछि दैनिक १ करोड ६० लाख लिटर पानी आपूर्ति बन्द हुँदा पोखरामा खानेपानी हाहाकार भएको हो। अहिले खानेपानी वितरण ठप्प भएका बेला दिनहुँको वर्षाका कारण शहरबासीले आकाशे पानी उपभोग गर्न पाउँदा केही हदसम्म राहत महसुस गरेका छन्।
यसअघि गत वैशाख २३ गते सेतीकै बाढीले मर्दीबाटै ल्याएको २० इन्चको नयाँ पाइप समेत बगाउँदा दैनिक १ करोड ५० लाख लिटर खानेपानी आपूर्ति रोकिएको थियो। पहिलेको उक्त क्षति मर्मत नसकिँदै अहिले अर्काे पाइप पनि बाढीले बगाएपछि तालको शहर पोखरामा खानेपानीको हाहाकार मच्चिने अवस्था आएको खानेपानी संस्थानले जनाएको छ।
संस्थानले तत्कालै पाइप मर्मत सुरु गरेको जनाए पनि लगातारको वर्षा र सेतीको उर्लंदो बाढीले सहजै काम गर्न नदिएकाले खानेपानी आपूर्ति छिटै भईहाल्ने अवस्था छैन। यस्तो बेला वर्षे पानीमा भर परेका पोखराबासी खानेबाहेक सबै काममा आकाशको पानी प्रयोग गर्न बाध्य छन्। पिउने पानीका लागि ट्याङ्करबाट बोरिङको र त्यो पनि नपाए जारको पानी किन्नुपरेको स्थानीयको भनाई छ।
शहरभरी एकैपटक पानीको चर्को अभाव भएपछि बोरिङको पानी पाउन समेत गाह्रो हुन थालेको छ। पोखरामा सञ्चालित डेढदर्जन निजी बोरिङले पानीका लागि कम्तिमा २-३ अघि नै बुकिङ लिनुपरेको बताएका छन्।
तीन दिनयता धारामा पानी आउनै छाडेपछि अहिले धेरैले आकाशको पानी भएभरका भाँडाकुँडामा जम्मा गरेर राख्न थालेका छन्। ठूलो परिवार र सरसफाईमा विशेष ध्यान दिनुपर्ने स-साना केटाकेटी हुनेहरुलाई पानीको अभावले धेरै पिरोलेको छ। सधैं बोरिङको पानी किन्दै आएका होटल, रेष्टुरेन्टहरुले भने नियमित ग्राहकको लाभस्वरुप प्राथमिकता क्रममै पानी पाइरहेका छन्।
पोखरा-४ गैह्रापाटनका श्रीकृष्ण मानन्धरले तीन दिनयता पानीको चरम अभाव भोग्नुपरेको सुनाउँदै घरको सम्पूर्ण उपभोगका लागि आकाशको पानीमा भर परेको बताए। उनले बाढीले पाइप बगाएलगत्तै बोरिङहरुमा पानीको लागि अग्रिम बुकिङ सुरु भएको उल्लेख गर्दै भनेको समयमा त्यो पनि पाउन छाडेको बताए। बोरिङले २-३ दिनअघि पानी दिन नसक्ने जनाएपछि शनिबार परिवारमा आकाशकै पानीलाई फिल्टरमा हालेर पिएको उनले सुनाए।
'अहिले धारामा पानी आउनै छोडेपछि जारको पानी किनेर खानुपरेको छ' उनले भने,'अरु कामका लागि कुन बेला पानी पर्ला भनेर आकाशतिर हेरेर बस्नुपर्ने अवस्था आयो।'
उनले पिउन र खाना पकाउन दैनिक एक जार (करिब २० लिटर) पानी ६० रुपैयाँमा किनेको बताए। यस्तै घरायसी र व्यक्तिगत सरसफाईका लागि आकाशको पानी भरेर काम चलाउन थालिएको बताए।
गणेशटोलकी मन्दिरा पन्थीले तीन दिनयता घरपट्टीसँग दिनहुँ एक बाल्टी पानी मागेर भान्छामा पुर्‍याउँदै आएकी छिन्। खानेपानी संस्थानको पानी वितरण ठप्प भएपछि घरपट्टीले सिमित पानी कोठामा बस्नेहरुलाई आफैंले खटाई-खटाई दिइरहेका छन्। दैनिक सरसफाई र बच्चाको कपडा धुनुपर्ने भएकाले दिनहुँ पर्ने आकाशको पानीले धेरै राहत दिएको उनले बताइन्।
'बिहान-बेलुका भान्छाको सरसफाई र कपडा धुन आकाशकै पानी चलाएका छौं' उनले भनिन्,'हाहाकारको यो बेलामा खानेबाहेक सबै पानी आकाशले दिएको छ।' खानेपानी संस्थान पोखरा शाखाले बाढीले क्षतिग्रस्त बनेको पाइप लाइन मर्मतका लागि सक्दो प्रयास भईरहेको जनाएको छ। संस्थानका शाखा प्रमुख इश्वर प्रसादले बाढीले कटान गरेको ठाउँमा ग्याविन उठाएर पाइपका लागि बेस बनाउने काम भइरहे पनि लगातारको वर्षाले सोचेजति काम हुन नसकेको बताए। उनले खानेपानीको चरम अभाव भए पनि नगरबासीलाई राहत दिन ट्याङ्करबाट टोल-टोलमा पानी वितरण गर्न थालिएको बताए। संस्थानका केन्द्रीय इन्जिनियरिङ महाशाखा प्रमुख भूपेन्द्र प्रसादले जतिसक्दो पाइप छिटो मर्मत गरी खानेपानी सुचारु गर्ने तयारीमा जुटेको बताए।
'सोमबारबाट ४ वटा ट्याङ्करले पानी वितरण सुरु गरेको छ' उनले भने,'एक-दुई दिनमै धरान र बुटवलका थप ट्याङ्कर आउँदैछन्।'