अस्पताल खोल्न बिरामी र कुरुवाको धर्ना
![]() |
रमेशकुमार पौडेल, चितवन, साउन २- चिकित्सकहरूले जिल्लाका सम्पूर्ण अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि मर्का परेको भन्दै बिरामी र कुरुवाहरूले सोमबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी र कुरुवाले प्रशासन गुहारेका हुन्।
स्वास्थ्य संस्थामा लगातार तनाव र चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि हातपात भएपछि आइतबारबाट नेपाल चिकित्सक संघ चितवनले अस्पतालहरू बन्द गराएको हो। स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यन्वयन भएर अस्पताल क्षेत्रहरू सुरक्षित बनेमा मात्रै काममा फर्कने संघको अडान छ।
स्वाथ्यकर्मी सुरक्षा ऐनमा स्वास्थ्यकर्मीलाई हातपात गरे पाँचदेखि २० हजार रुपैयाँ जरिवाना र तोडफोड गरे, तीन लाख रुपैयाँसम्म जरिवाना, एक महिनादेखि एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ। त्यस्तै सुरक्षाका लागि ५० शैयाभन्दा माथिको अस्पतालमा आवश्यकता परे, खण्डमा स्थायी रूपमै ११ जनासम्म सुरक्षाकर्मी राख्न पाउने व्यवस्था ऐनमा छ।
गृह मन्त्रालयले सो ऐन अनुसार दोषीहरूलाई कारबाही गर्न सोमबारै जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिइसकेको छ। तर अस्पतालमा तनाव सिर्जना गर्ने र चिकित्सकलाई हातपात गर्नेलाई मंगलबार बिहान १० बजेसम्म प्रशासनले समाते मात्रै सेवा सञ्चालनबारे निर्णय गर्ने संघले जानकारी गराएको छ।
'मन्त्रालयबाट नै निर्देशन आएको छ। आक्रमणमा संलग्न केहीलाई समातेको छु,' प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले भने, 'यस्तो अवस्थामा चिकित्सकहरूलाई सेवा सञ्चालन गर्न मैले आग्रह गरेको छु।'
चिकित्सक संघका पूर्व महासचिव तथा क्यान्सर अस्पतालका चिकित्सक अञ्जनीकुमार झाले भने घटनामा संलग्न अन्य व्यक्तिहरू पक्राउ नपर्दासम्म अस्पताल नखुल्ने बताए। सोही मागसहित संघले सोमबार जिल्ला प्रशासनमा ज्ञापनपत्र पनि बुझाएको छ।
चिकित्सक र स्वास्थ्यकर्मीले ज्ञापनपत्र बुझाएर फर्केलगत्तै बिरामीहरूले प्रशासनअगाडि धर्ना दिएका थिए। 'डाक्टरले पिटाइ खाएको भनेर सेवा बन्द गर्दा हामी टाढाबाट बिरामी लिएर उपचार गराउन आएकाहरूको बिचल्ली भयो,' सुनसरी मानपुरबाट श्रीमतीको उपचार गराउन आएका गणेश कार्कीले गुनासो गरे।
ऋण खोजेर श्रीमतीको उपचार गराउन आएका महोत्तरी गोठादेवीका घुरन साहु अस्पताल बन्द हुँदा ज्यादै मर्कामा परेको बताउँछन्। 'पिट्ने अर्कै सजाय हामीले पायौं,' उनले भने।
बिहीबार राति क्यान्सर अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि नर्समाथि आक्रमण भएको थियो। त्यस्तै भरतपुरको आशा अस्पतालमा उपचार गराइरहेकी एक महिलाको निधनपछि शनिबार अस्पताल घेराउ र तोडफोड भएको थियो। त्यस्तै भरतपुर अस्पतालमा उपचाररत मकवानपुर मनहरी-३ का रामचन्द्र सामरीको शनिबार राति निधन भएपछि अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ड डा. महेन्द्र न्यौपानेमाथि आक्रमण भएको थियो। यी घटनाको विरोधमा चिकित्सकहरूले सेवा बन्द गराएका हुन्। जिल्लाको सबै अस्पतालको सेवा बन्द हुँदा दैनिक दुई हजार बिरामी प्रभावित भएका छन्।

डा. न्यौपानेमाथि आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न थप व्यक्ति पनि समातिनु पर्ने, नभए अस्पतालको सेवा सञ्चालन नगर्ने चिकित्सक संघको अडान छ। त्यस्तै क्यान्सर अस्पतालमा नर्समाथि आक्रमणको आरोपमा समातिएका बीरबहादुर चन्दलाई प्रशासनले सोमबार धरौटीमा छाडेको छ।
![]() |