गर्भवती महिला अस्पतालमा अलपत्र

दिलीप पौडेल, बाग्लुङ, साउन २- अलपत्र अवस्थामा भेटिएकी एक महिलाको उपचारमा समस्या भएको छ। म्याग्दीको सदरमुकाम वेनीमा भेटिएकी करिब ३५ वर्षकी माया केसीको आफन्त नभएपछि धौलागिरी अञ्चलअस्पतालले भर्ना गर्न आनकानी गरेको थियो। महिला विकास अधिकृत लक्ष्मी जिसी कार्कीको दबाबमा अस्पतालले भर्ना गरेपनि ती महिलाले आफ्नो घर ठेगाना पत्ता नलाग्दा कठिनाई भएको हो। 

 
अलपत्र महिलालाई म्याग्दी प्रहरीले वेनी अस्पतालमा पठाएपछि त्यहाँबाट रिफर गरेर धौलागिरी अञ्चल अस्पतालमा ल्याईएको थियो। 'स्याहारसुसार गर्न आफन्त ल्याउनुपर्ने अस्पतालले जिकिर गरेपनि दबाबमा भर्ना गरेर राखेका छौँ,' महिला विकास अधिकृत जिसीले भनिन्,' आफन्त सम्पर्कमा नआएकोले नर्सले हेरचाह गर्दै आएका छन्।'
अस्पतालमा चेकजाँदा गर्दा १२ साताको पेटमा बच्चा रहेकोले थप जटिलता आएको अस्पतालकी स्टाफ नर्स अहिले शोभा शर्माले बताइन्। 'महिलाले आफन्तको बारेमा केही बताउँदिनन्,' शर्माले भनिन्, ' महिला गर्भवती भएकोले थप समस्या सृजना भएको छ।' के.सीले आफ्नो नाम बताएपनि घर परिवारको बारेमा केही नबताउँदा चिकित्सक अन्योलमा छन्।
ती महिला मानसिक समस्याले समेत ग्रस्त भएकोले घर ठेगाना थाहा नपाएर अलपत्र परेको हुन सक्ने अनुमान छ। अहिले अस्पतालमा लैङिक हिंसा एकद्वार संकट व्यवस्थापन केन्द्रले राखेपनि सँधै राख्न्ा नसक्ने शर्माले बताईन्। एक सातादेखि अस्पतालमा रहेकी केसीले बोली र व्यवहारमा परिवर्तन भई स्वास्थ्यमा सुधार आएपनि घर ठेगाना तथा आफन्तको बारेमा केही बताउन नसक्ने अवस्थामा छिन्। 'स्वास्थ्य अवस्थामा सुधार देखिएको छ,' शर्माले भनिन्,' पूर्णरुपमा ठीक भएपनि कसलाई बुझाउने? उनले
प्रहरीले अस्पतालमा ल्याएर बुझाएपछि शरिरको विभिन्न स्वास्थ्य परिक्षण गरिएको थियो। अलपत्र अवस्थामा गर्भवती भेटिएकोले एचआइभी संक्रमण भएको आशंका गरिएपनि उनी स्वस्थ्य रहेको अस्पतालका प्रमुख डा. तरुण पौडेलले बताए। 'राम्रोसँग नबोल्दा हिस्ट्री लिन समस्या भयो,' उनले भने।
उनको सामाजिक पुनस्थापनाका लागि अल्पकालिन महिला सेवा केन्द्रले पनि आफन्त र सहयोगीको खोजी गरिरहेको महिला विकास अधिकृत जिसीले बताइन्। 'घरेलु हिंसामा परेर मानसीक असन्तुल गुमेको हुन सक्छ, ' जिसीले भनिन्, ' महिलाको उपचारसँगै कसरी न्याय दिने चिन्तामा छौं।'
अस्पतालको शैयामा उपचार गराइरहेकी केसीले कुराकानीको क्रममा अंग्रेजी बोल्ने प्रयास गर्छिन्। हिँड्ने बेला संवाददातसँगपनि वाई भनिन्। अस्पताल परिसरमा गत पुसमा स्थापना भएको केन्द्रमा अहिले सम्म २४ जना घरेलु र लैंगिक हिंसामा परेका महिलाहरुको उपचार तथा पुनस्थापना भएको छ। ती मध्ये अधिकांस श्रीमानबाट कुटपिट, विष सेवन, जवरजस्ती करणी लगायतका घटनाबाट पिडित महिलाहरु रहेका थिए।
अधिकांशलाई कानुनी उपचार समेत दिइ पुनस्थापना गरिएको थियो भने एकजनालाई पोखरामा रहेको 'सेल्टर'मा पुनस्थापनाका लागि पठाइएको छ।