हाइवे
|
विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन भैसकेको चलचित्र 'हाइवे' को आज शुक्रबारदेखि देशव्यापी प्रदर्शन प्रारम्भ हुने भएको छ। यो चलचित्रको निर्देशन दीपक रौनियारले गरेका छन्। राजमार्ग तथा समाजका विभिन्न पाँच क्षेत्रमा देखिएका समस्यालाई यथार्थ रूपले चित्रण गरिएको यो चलचित्रलाई समिरमणि दीक्षितले निर्माण गरेका हुन्। सौगात मल्ल, कर्म, दयाहाङ राई, राजन खतिवडा, विनय श्रेष्ठ, आशा मगराती, सृष्टि घिमिरे तथा पत्रकार रवीन्द्र मिश्रले अभिनय गरेका छन्। हाइवेलाई अमेरिकाको लभेन्चर प्रोडक्सन तथा नेपालको आदि प्रो डक्सनले मिलेर निर्माण गरेका हुन्। केदार शर्मा, खगेन्द्र लामिछाने तथा दीपक रौनियारको कथामा आधारित यो चलचित्रको पटकथाकार अविनाश विक्रम शाह हुन्।
जर्मनीको बर्लिन चलचित्र महोत्सवमा समेत छनौट भएको यो चलचित्र राजमार्गमा हुने विभिन्न घटनाक्रममा आधारित छ। खासगरी बन्द तथा हड्तालले जनमानसमा पार्ने नकारात्मक प्रभावलाई चलचित्रले मुख्य विषय बनाएको छ। गन्तव्यमा हिँडेको एउटा यात्रुले भोगेको पीडालाई चलचित्रमा आकर्षक ढंगले चित्रण गरिएको छ। बन्द गर्नुहुँदैन भन्ने समाजिक सन्देश दिन खोजिएको यो चलचित्रमा मनोरञ्जनलाई पनि ध्यानमा राखिएको छ। यो चलचित्रले दुई सातापछि भारतको नयाँ दिल्लीमा सम्पन्न हुने ओसियन सिनेफान एसियन अरेबियन चलचित्र महो त्सवमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको छ। एसिया तथा अरबका उत्कृष्ट १२ चलचित्रको सूचीमा 'हाइवे' पनि छनौट भएको हो। महोत्सवअन्तर्गत आगामी साउन १७ र १८ गते यो चलचित्र प्रदर्शन हुनेछ।
|




