को बन्ला मिस क्षेत्री
|
मिस क्षेत्री नेपाल-२०१२ को तयारी पूरा भएको छ। पोखराको दीपेन्द्र सभागृहमा भोली शनिबार हुने प्रतियोगिताका लागि क्षेत्री समुदायका २० जना युवती भिड्दैछन्। नेपालमै पहिलो पटक आयोजना हुन लागेको मिस क्षेत्रीका लागि देशका विभिन्न भागबाट आएका प्रतियोगीहरू तयारीमा जुटेका हुन्। दोलखाबाट आएकी २१ वर्षीया नीता रावत पनि उक्त भीडमा हेामिएकी छिन्। आफ्ना सबैजसो काम थाती राखेर प्रतियोगितामा सहभागी हुन आएकी रावतले भनिन्, 'प्रतियोगितामा सहभागी भएर धेरै कुरा सिक्न पाइएको छ।' सुन्दरीहरूलाई पूर्वमिस नेपाल उषा खड्कीले प्रशिक्षण दिइरहेकी छिन्।
क्षेत्री समाज नेपालले गर्न लागेको यो प्रतियोगितामा युवतीहरू र्याम्पमा हिँड्नेदेखि, व्यक्तित्व, नेतृत्व, उद्घोषण आदि विभिन्न विषयमा प्रशिक्षण लिइरहेका छन्। गत फागुनदेखि प्रतियोगिताका लागि प्रशिक्षण सुरु भए पनि प्राविधिक कारणले बीचमा दुई महिना रोकिएको थियो। अहिले एक महिनादेखि चलिरहेको प्रशिक्षणमा सहभागीहरू कास्कीको ढिकुरपोखरी गाउँ डुलेर गाउँको रहनसहन र संस्कृति बुझेर फर्किएका छन्। 'केवल सुन्दरताको मात्र मापन नभै हाम्रो मौलिक संस्कृति र भाषाको संवर्द्धन गर्ने हेतुले कार्यक्रम आयोजित गरिएको हो,' कार्यक्रम संयोजक कुमार खड्काले भने।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले चितवनमा कल्चर शो र पोखरामा ट्यालेन्ट शो समेत प्रस्तुत गरिसकेका छन्। काठमाडौंमा अन्तिम प्रतिस्पर्धा गराइने भनिए पनि पोखरामै सहभागीहरूले प्रशिक्षण लिएकाले साउन ६ गते पोखरामै मिस क्षेत्री नेपालको अन्तिम प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा १७ वर्ष देखि २२ वर्ष उमेर समूहका दाङ, चितवन, दोलखा, काठमाडौं, नवलपरासी, पोखरा आदि जिल्लाका युवतीहरू सहभागी छन्।
|




