नेप्से ५ अंकले घट्यो

काठमाडौं, साउन २ (नागरिक)- बजेट नआएपछि आर्थिक वर्षको पहिलो दिन सेयर बजार परिसूचक झन्डै ५ अंकले घटेको छ। कारोबार रकम भने गत आवको दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ४.८ अंकले घटेर ३८४.९२ कायम भएको छ। आइतबार नेप्से ६.२४ अंकले बढेको थियो। बिमा र उत्पादनमूलक समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक घटेकाले नेप्से ओरालो लागेको हो। 
'बजेट नआएपछि आर्थिक अस्थिरता बढ्ने भएकाले लगानीकर्ता निराश भएका हुन्,' एक विश्लेषकले भने,'उनीहरुले सेयर किन्नुपर्ने ठोस आधार पाएका छैनन्।'
बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूहको परिसूचक सबभन्दा उच्च (१६.४४) अंकले घटेको छ। यसलाई क्रमशः जलविद्युत, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, विकास बैंक र वित्त समूहले पछ्याएका छन्। बिमा र उत्पादनमूलक समूहको परिसूचक बढेको छ। व्यापार र होटल समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन। स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई ९ समूहमा विभाजन गर्दै आएको छ। 
यस दिन एक हजार एक सय ६ कारोबारमा ५ करोड १३ लाख ५० हजार रुपैयाँ बराबरका एक लाख ३१ हजार ४ सय ५१ कित्ता सेयर किनबेच भएका छन्। सात सय ८९ कारोबारमा १६ करोड ७ लाख २६ हजार रुपैयाँ बराबरका आठ लाख ६० हजार ८ सय ६३ कित्ता सेयर किनबेच भएका थिए। चालु आवमा दैनिक ४ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदै आएको छ। गत वर्ष औसत दैनिक कारोबार रकम २ करोड ७५ लाख रुपैयाँ थियो। 
यस दिन धेरै (११३) पटक सेयर किनबेच हुने कम्पनी कृषि विकास बैंक हो। धेरै रकम (२ करोड ४८ लाख २७ हजार रुपैयाँ) को सेयर किनबेच हुने आधारमा एभरेस्ट बैंक अग्रता लिएको छ। धेरै कित्ता ( २४ हजार ९ सय ४१) सेयर किनबेच हुने आधारमा पनि एभरेस्ट नै अगाडि छ। 
स्टक एक्सचेन्जले ७९ कम्पनीको कारोबार भएकोमा २१ कम्पनीको सेयर मूल्य बढेको १२ को यथावत रहेको र ४६ को घटेको जनाएको छ। स्टक एक्सचेन्जमा सूचीकृत हुने कम्पनीको संख्या बढे पनि कारोबार हुने कम्पनीको संख्या बढेको छैन्।
कन्काई विकास बैंक, मुक्तिनाथ विकास बैंक र अपि फाइनान्सको सेयर मूल्य यस दिन उच्च दरमा घटेको छ। कर्णाली विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक र एनबी बैंक सेयर मूल्य उच्च दरमा बढ्ने कम्पनीको सूचीमा अगाडि छन्। 
बजार पुँजीकरण ३ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा ५ अर्ब कम हो। उचाइमा पुगेका बेला बजार पुँजीकरण ६ खर्ब १२ अर्ब रुपैयाँ थियो।