बेलायत सरकारको ५ अर्ब ११ करोड अनुदान दिने


२८ फागुन, काठमाडौं । बेलायतको विकासका लागि अन्तर्राष्ट्रिय विभाग (डिएफआइडी)ले तेस्रो चरणको ग्रामीण पहुँच कार्यक्रम कार्यान्वयन गर्न पाँच अर्ब ११ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदी र डीएफआइडीका नेपाल प्रमुख डोमिनिक ओनिइलले अनुदानसम्बन्धी सहमतिपत्रमा हस्तारक्षर गर्नुभयो । गरिब तथा पिछडिएका वर्गमा आय तथा रोजगारीका अवसर सिर्जना गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउँदै आर्थिक गतिविधिमा पहुँच विस्तार गर्न अनुदान सहयोग खर्च गरिनेछ ।





आगामी चार वर्षमा खर्च गरिने उक्त सहयोगले मध्यपश्चिम तथा सुदूरपश्चिमका जिल्लाहरू हुम्ला, बाजुरा, मुगु, अछाम, कालीकोट, जुम्ला र दैलेखका जनताको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ । रासस