२ सय वर्ष पुरानो मूर्ति गायब


विरोधमा गुठी संस्थानमा तालाबन्दी


जनकपुर, फाल्गुन २९ - मठमन्दिरको संरक्षण गर्ने गुठी संस्थानले नै धार्मिक सम्पदा बिक्री गरेको आरोप लगाउँदै स्थानीय साधुसन्त तथा नागरिक समाजका अगुवाले सोमबार राममन्दिरस्थित गुठी संस्थान कार्यालयमा तालाबन्दी गरेका छन् ।
जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको नेतृत्वमा निस्केको साधुसन्त महन्थको जुलुसले नगर परिक्रमा गरी गुठी संस्थान कार्यालयमा तालाबन्दी गरेको हो । जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले निवर्तमान प्रमुख राजुबाबु पाण्डेको मिलिमतोमा झन्डै दुई सय वर्ष पुरानो विरपुर कुटीको राधाकृष्ण मूर्ति बिक्री गरेको आरोप लगाएका छन् । 'अमूल्य राधाकृष्णको मूर्ति मात्र होइन, अनेकौँ मठमन्दिरका जग्गा जमिन पनि बिक्री भएका छन् । दोषीमाथि कारबाही नभएसम्म तालाबन्दी जारी रहने छ,' महन्थ दासले भने । जानकी मन्दिरबाट निस्केको जुलुस नगर परिक्रमा गरी जानकी मन्दिर पुगेको थियो । भारत सीतामढी जिल्ला विरपुरका महन्थ सुदर्शनदास वैष्णवले रामानन्दचोक उत्तर-दक्षिणमा आठ बिघा जग्गा दिई विरपुर मन्दिर निर्माण गरेका थिए । मन्दिरमा राधाकृष्णको मूर्ति राखिएको थियो ।
विरपुरका महन्थले निर्माण गरेका कारण यस मठको नामै विरपुर कुटी राखिएको थियो । पञ्चायत कालमा वागवान निर्माण क्रममा मन्दिरको अधिकांश जग्गा अतिक्रमण गरिएको थियो । मन्दिरसमेत तोडिएको थियो ।
राजाको शासन कालमा मन्दिर भत्काएपछि दुखी भएर महन्थ सुदर्शन दास फेरि नेपाल फर्केनन् । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले दिएको जानकारीअनुसार गुठी संस्थानले उक्त मूर्ति संरक्षण गर्छु भनेर ल्याएको थियो । केही वर्षअघिसम्म मूर्ति गुठी संस्थानमै रहे पनि राजुबाबु पाण्डेको पालामा उक्त मूर्ति गायब भएको हो । मूर्ति गायव गर्न गुठी संस्थानका उपल्ला पदाधिकारी पनि संलग्न रहेको स्थानीयको आशंका छ ।
पाण्डेले चार महिनाअघि नै अवकाश प्राप्त गरिसके पनि उनको जनकपुर आगमन जारी छ । स्रोतअनुसार उनी अहिले पनि राममन्दिरस्थित गुठी संस्थान कार्यालयमा आउने गरेका छन् र गुठीको जग्गा बन्दोबस्ती गर्दै छन् । महन्थ दासले जानकी मन्दिरभन्दा पश्चिम रहेको अतिक्रमित जग्गामा मन्दिरले धर्मशाला बनाउन खोज्दा गुठी प्रमुख पाण्डेले ५० लाख घूस मांगेको दाबी गरे ।