काँग्रेसद्धारा जिविस परिषद् बहिष्कार


काभ्रे, फाल्गुन २९ - योजना बाँडफाडँमा सहभागी नगराएको भन्दै काँग्रेसले जिविस परिषद् बहिष्कार गरेको छ । जिल्ला विकास समितिले मंगलवार धुलिखेलमा आयोजना गरेको २१ औ जिल्ला परिषद् नेपाली काँग्रेस जिल्ला समितिले बहिष्कार गरेको हो ।
'काँग्रेसको सहभागीता बिना एक्लौटी रुपमा योजना छनोट गरी रकम बिनियोजन गरेपछि त्यसको बिरोधमा परिषद् बहिष्कार गरेका हौ' काँग्रेस जिल्ल्ाा सचिव अच्यूतप्रसाद पौडेलले कान्तिपुरसँग भने 'काँग्रेसलाई बाइपास गरी गरिएको परिषद्का बिरोधमा केही भित्रै चरणवद्ध आन्दोलन थाल्छौ ।'
काँग्रेसले फागुण २७ गते जिविसमा योजनाको लिष्ट पठाएको थियो । तर फागुण २५ गते नै काँग्रेस बाहेकका अरु दलहरु सहभागी बैठकले योजना छनोट र बजेट बिनियोजन गरिसकेका थिए ।
'सुरुमा काँग्रेसले एमाओवादीसँगको राजनैतिक कारणले जिविसको बैठकमा बस्न सक्दैनौ भनेर जानकारी गरायो' स्थानीय विकास अधिकारी गोबिन्द्र बहादुर कार्कीले भने 'काँग्रेसले योजना दिदाँ सबै योजना छनोट र बजेट बिनियोजन भईसकेको थियो ।' काँग्रेसले योजना दिएपछि अरु दलहरुसँग छलफल गर्दा पुनः योजना छनोट र बजेट बिनियोजन गर्न नमानेको उनले बताए । काँग्रेसले योजनाको लिष्ट दिएपछि जिविसमा फागुण २८ गते बसेको दलहरुको बैठकमा एमाओवादी, एमाले लगायतका दलले निर्णय भईसकेको कुरा पुर्नबिचार गर्न नसकिने अडान लिएका थिए ।
माघ १६ गते प्रधानमन्त्री बाबुराम भट्टराईको बिरोधमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका बिपक्षी दलका कार्यकर्ता माथि  ढुङ्गामुढा गरी वाईसिएलले आक्रमण  गरेका थिए । त्यसैबेला वाईसिएल आक्रमणको  समाचार संकलनका गर्ने क्रममा जिल्ल्ााका ६ जना संचारकर्मीलाई कुटपिट गरेको थियो । त्यसपछि बिपक्षी दलले त्यस घटनाको बारेमा एमाओवादीले सार्वजनिक रुपमा माफी नमागे एमाओवादी सहभागी सबै कार्यक्रम बहिष्कार गर्ने उद्घोष गरेका थिए । एमाओवादीले घटनाको बारेमा माफी नमाग्दै एमालेले उ सहितको जिविस परिषद्को बैठकमा सहभागीता जनाएको थियो । आ.ब २०७०/७१ को लागि २ अर्ब ४० करोड ५९ लाख २४ हजार रुपैयाको बजेट परिषद्ले पारित गरेको छ ।