पात्रो भन्छ- फागुनभन्दा चैत राम्रो


केही दल शान्तिका प्रदायक बन्ने !


२८ फागुन, काठमाडौं । ज्योतिषीका कुरा कतिलाई पत्यार लाग्छ ? कतिलाई हावादारी गफ लाग्छ । तर, कतिपय बेला ज्योतिषीले ठ्याकठ्याक मिलाउँछन् । फागुन महिनामा पनि ज्योतिषीले गरेका धेरै भविष्यवाणी मिलेको कतिपयको दाबी छ ।अघिल्लो वर्ष नै तयार भएको २०६९ सालको पात्रोमा उल्लेख छ – ‘आपसी मिलेमतोमा राजनैतिक संकट टार्ने प्रयत्न भएपनि दलहरुबीचको सम्झौता व्यवहारमा उत्रिन नसक्ला ।’ तोयनाथ पन्तको पात्रोमा भएको भविष्यवाणी अनुसार देशको राजनीतिक ठ्याक्कै यही अवस्थामा छ । दलहरुले प्रयास त गरिरहेका छन् । तर फागुन महिनाभर यो प्रयत्न व्यवहारमा उत्रिन गाह्रो छ ।
यस्तै पात्रोमा उल्लेख भएअनुसार फागुन महिनामा चामल, चना, जौ, तिल, दलहन, खाद्यान्न लगायत बाहुमूल्य धातु आदिमा महंगी बढ्छ । तर किराना र लत्ता कपडा भने सस्तो हुने ज्योतिषीको भविष्यवाणी छ । यो भविष्यवाणी पनि धेरै हदसम्म मिलेको छ ।महिनाको मध्यतिर मन्दझरीको योग रहेपनि अरु बेलामा भने मौसम न्यानो रहने ज्योतिषीको भविष्यवाणी थियो । यो कुरा पनि मिलेको छ । यस्तै फागुनमा दुर्घटना लगायतको दैवीय विपत्तिको मात्रामा बृद्धि होला भनेको कुरा पनि मिलेको छ । यही महिनाको अन्त्यतिर पाल्पामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भयो । सप्तरीमा आगलागीमा परी झण्डै तीन दर्जन परिवारको बिचल्ली भयो ।
चैत कस्तो होला ?
ज्योतिषीका अनुसार बिहीबार संक्रान्ति भएकाले चैतमा केही खाद्य वस्तु लगायत बहुमूल्य धातु, रत्नहरुमा भाउ बृद्धिको योग छ । दलहन, तेल, मदिराजन्य वस्तु पनि महंगै होलान् । दोस्रो र अन्तिम हप्तामा झरीको सम्भावना रहेपनि अरु समय घमाइलो मौसम देखिएला । दैवी विपत्ति जस्ता दुर्घटनामा कम होला ।जनतामा राजनीतिप्रतिको धारणा नकारात्मक देखिएपनि केही राजनीतिक दलहरु शान्तिका प्रदायक बन्ने प्रयत्नमा लाग्ने तोयनाथ पन्तको पात्रोमा लेखिएको छ ।यस्तै शैक्षिक गतिबिधि समय सापेक्ष बन्दै जाने र कृषिकार्य र पशुपालनबाट राम्रै आर्जन हुने भविष्यवाणी छ ।