आरसीटीलाई हराउँदै मनाङ दोस्रो स्थानमा उक्लियो
![]() |
२८ फागुन, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
सोमबार भएको खेलमा रानीपोखरी कर्नर टिम आरसीटीलाई २-० को जित निकाल्दै मनाङले पहिलो चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ । पहिलो चरणमा आरसीटीले मनाङलाई २-१ ले हराएको थियो ।
जितपछि मनाङको १६ खेलबाट २९ अंक भएको छ भने लिग लिडर थ्रीस्टारको ३५ अंक छ । सातौं स्थानमा रहेको आरसीटीको २६ अंक छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले सुरुवाटै आरसीटीमाथि दबाव कायम गरेको थियो । १८ औं मिनेटमा सुजल श्रेष्ठको पासमा कप्तान अनिल गुरुङ हेड गर्न चुके । नविन न्यौपानेको प्रहारले सही दिशा लिन सकेन । २१ औं मिनेटमा अनिलको प्रहार बारमा लागेर फर्कियो ।
एकपछि अर्को गर्दै आरसीटीमाथि धावा बोलेको मनाङ पहिलो हापको अन्त्यमा गोल गर्न सफल भयो । आरसीटीको रक्षक प्रेम तामाङको गल्तीको फाइदा उठाउँदै सिकोले गोल गरेका हुन् । दोस्रो हापमा आरसीटीले खेलमा र्फकने केही राम्रो मौका गुमायो भने मनाङले पनि केही मौकाको सदुपयोग गर्न सकेन ।
६९ औं मिनेटमा अनिलको पासमा गोल गर्दै शिव श्रेष्ठले मनाङको अग्रता दोब्बर पारे । खेलमा दुबै टोलीबाट थप गोल हुन सकेन र मनाङ २-० ले विजयी भयो ।
![]() |