पत्नि वियोग कम गर्न हरिबंशले लेखे पुस्तक


चर्चित हास्यव्यंग्यकार हरिबंश आचार्यले आत्मकथा लेखका छन् । उनको आत्मकथा समेटिएको पुस्तक चिना हराएको मान्छे यही महिना भित्रैमा बजारमा आउने प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।
विहीवार भएको पत्रकार सम्मेलनमा लेखक आचार्यले पत्नी वियोगको छटपटाहटलाई कम गर्न आफूले पुस्तक लेखेको जानकारी दिए । उनकी पत्नि मिराको २०६८ साल बैशाख ७ गते निधन भएको थियो । मिराको निधन भएको एक वर्ष नपुग्दै आचार्यले एकल महिलासँग विवाह गरेका थिए ।
पुस्तकमा आचार्यले बाल्यकालमा गरेका उट्पट्याङ, उनको जीवन संघर्ष, कला क्षेत्रमा आउँदा भोगेका उतार चढावलगायतका विषय समेटिएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।
आचार्यको पुस्तकको पाण्डुलिपी सम्पादनमा सहयोग गरेका रबिन्द्र समिरले आफूले पुस्तक रुँदै र हास्दै पढेको जानकारी दिए । समिरले यो पुस्तक नेपाली प्रकाशन उद्योगको कोशेढुंगा हुने दावी पनि गरे ।
पत्रकार सम्मेलनमा फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले आचार्यजस्तो प्रतिष्ठित व्यक्तिको पुस्तक छाप्न पाउनु गर्वको विषय रहेको र यो आफ्नो जीवनको सवैभन्दा महत्वपूर्ण काम भएको बताए ।