माओवादी विस्तारित बैठक प्रवेशमा कडाई
|
काठमाडौं, साउन ४- गत साउनदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी एमाओवादीको विस्तारित बैठकमा आजबाट प्रतिनिधि प्रवेशमा थप कडाइ गर्ने तयारी भइरहेको बताइएको छ। यसअघि दिइएका प्रवेश कार्डमा अनियमितताको आशङ्का गर्दै आज छुट्टै कार्ड बाँड्ने तयारी भइरहेको छ।
यसैगरी एमाओवादीको सातौँ विस्तारित बैठकअन्तर्गत आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजे मात्रै बस्ने भएको छ।
बैठक प्रचारप्रसार उपसमितिका संयोजक विश्वभक्त दुलालले बैठकको तयारी जारी रहेको र केही प्रक्रिया पूरा गर्नुपरेकाले बैठक अपराह्नका लागि सारिएको जानकारी दिए ।
बुधबार समूहगत छलफलका क्रममा स्वैच्छिक अवकाशमा निस्किएका पूर्वलडाकुका प्रतिनिधि र वाइसिएलका प्रतिनिधिले शिविरभित्रको आर्थिक हिसाब पारदर्शी हुनुपर्ने, आर्थिक अनियमितताका दोषीलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्र्ने, घाइते तथा अपाङ्गका लागि आजीवन निर्वाहभत्ताको व्यवस्था हुनुपर्ने, पार्टी सुदृढीकरणको ठोस र व्यावहारिक योजना चालु विस्तारित बैठकमा पेस गर्नुपर्ने लगायतका ११ बुँदे माग राख्दै बैठकस्थलमै नाराबाजी गरेपछि बुधबारको बैठक स्थगन भएको थियो।
पूर्वलडाकु र वाइसिएलका माग सम्बोधन गर्न आयोग गठन गर्ने निर्णय आज बिहान बसेको एमाओवादी स्थायी समितिको बैठकले गरेको छ। रासस
|




