धनगढी क्रिकेट एकेडमीलाई एनसिएको मान्यता


काठमाडौं, चैत्र ३ (नागरिक)- नेसनल क्रिकेट एकेडेमी (एनसिए) ले धनगढी क्रिकेट एकेडमी (डिसिए) लाई आवद्धता दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) को मातहातमा एनसिए माघदेखि सञ्चालनमा छ भने डिसिए सुदूर पश्चिमकै पहिलो क्रिकेट एकेडमी हो।

 
त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आयोजित कार्यक्रममा क्यानका सचिव केशव पहारी र डिसिएका अध्यक्ष सुवास शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे। एनसिएले धनगढीमा गएर अब डिसिएमा आबद्ध खेलाडीलाई प्रशिक्षण दिनेछ। एनसिएलाई विस्तार गर्ने कार्य अनुरुप डिसिएसँगको सम्झौता पहिलो पाइला भएको यसका प्रशिक्षक विनोद दासले बताए।
हाललाई डिसिएलाई एक वर्षका लागि मान्यता दिइएको बताउदै दासले भने, 'आगमी एक वर्ष भरी डिसिएले एनसिएको कार्यक्रम आयोजना गर्नेछ। एनसिएले भ्याएसम्म क्रिकेट सामाग्री देखि प्रशिक्षक यहाँबाट पठाउने छ भने एनसिएले त्यहाँको प्रतिभालाई काठमाडौं ल्याउने छ।'
एनसिएसँग आवद्धपछि डिसिएका अध्यक्ष शाही उत्साहित थिए। उनले भने, 'डिसिएको कार्यक्रम नियमित चलिरहेको छ। ११ देखि १९ वर्ष सम्मका ५० खेलाडीले अहिले डिसिएमा प्रशिक्षण लिइरहेका छन्। एनसिएसँगको आवद्धताले एउटा नया कार्यक्रम थपिएको छ। सुदुर पश्चिमका खेलाडीलाई राष्ट्रिय स्तरमा पुर्‍याउन यसले ठुलो मद्धत गर्छ। पुबुदु दासानायकेसहितका प्रशिक्षकहरु धनगढी गएर प्रशिक्षण गराउदा खेलाडीको मनोबल उच्च हुन्छ।'
शाहीले एनसिएको संरचना अनुरुप यो महिना भित्रबाट हरेक शनिबार यु-१२ का खेलाडीहरुलाई विशेष प्रशिक्षण दिइने छ। मंसिरमा स्थापना भएको डिसिएले अघिल्लो महिना धनगढी क्रिकेट लिग सम्पन्न गरेको थियो।