'पढ्न छाड्नुहुन्न बुढेसकाल लागे पनि'
|
चाँदनी हमाल, चितवन,चैत ४- दिउँसोको तीन बजे। भरतपुर आस्थाचोकको एक घरमा एक्कासि वृद्धवृद्धाको लर्को देखियो। उनीहरूमध्ये कसैले लौरा टेकेका थिए, कसैले पीताम्बर पहिरिएका। लाग्थ्यो-उनीहरू धार्मिक अनुष्ठानमा जान लागेका हुन्। तर, दाँत पुक्लिसकेका, अनुहार चाउरिएका, सिमलको भुँवाजस्तै कपाल भएका वृद्धवृद्धा साक्षरता कक्षा लिन आएका थिए।
एसएलसी परीक्षाको अनुगमन सिध्याइसकेर जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा उनीहरूको माझ झुल्किए। उनी साक्षरता कक्षा सुरु गर्न त्यहाँ आएका थिए। उनी आउनासाथ वृद्धवृद्धाले चुट्का र भजन सुनाउन थालिहाले। त्यहाँको वातावरण नै भक्तिमय बन्यो।
छोरी पढाऊ
बुहारी नि पढाऊ
ऋण लाग्छ भनेर नडराऊ
असी पुग्न लागेकी गोमा गिरीले महिला चेतनाको स्वर भजनको लयमा सुनाउँदै भनिन्, 'अचेल त बुहारीहरू पनि उठ आमै दैलो पोत, पढ्न हिँडियो भन्छन्।'
गिरीले यति भन्नासाथ शर्माले आग्रह गरे, 'अरु मात्र होइन, अब हामी पनि पढ्नुपर्छ भनेर भजनबाटै भन्नुस् त।'
त्यसपछि गिरीसँगै सबै वृद्धवृद्धाले एकै स्वरमा भने-
'पढ्नपर्छ दिदीबैनी उमेर गए पनि
पढ्नपर्छ दाजुभाइ उमेर गए पनि
हिम्मत नहार बुढो भए भनि '
'सिङ जुरो उम्रदैन दाजुभाइ हाम्रो
मिलीजुली पढ्नुपर्छ हुन्छ धेरै राम्रो
सात वर्षमा बुहारी, सत्र वर्षमा आमा
ल्ोख्ने पढ्ने ख्यालै छैन
बिर्सिगाथ्यौं धाम। '
भजनको माहोलमा वृद्धवृद्धा झुम्न थालेपछि शर्माले सबैका हात-हातमा किताब थमाइदिए। उनले भने, 'यो नयाँ गोरेटो हो, यसले तपार्इंलाई नयाँ बाटो देखाउँछ।' उनले वृद्धवृद्धालाई पढ्न हौस्याए । 'लौ अबदेखि सधैं पढ्न आउनुस्। वरपरका अरुलाई पनि पढ्न जाऊ भनेर सम्झाउनुस् है,' उनले आग्रह गरे। बुढेसकालमा अक्षर चिनेर कम्तीमा गीता, स्वस्थानी, रामायण, महाभारतजस्ता किताब पढेमा जुनी सफल हुने शर्माको भनाइ थियो।
किताब उल्टो समातेर ओल्टाइपल्टाइ गरिरहेका वृद्धवृद्धालाई उनले सिकाए, 'यसरी चित्र सुल्टो देखिनेगरी किताब समाउनुस्, अनि पाना पल्टाउनुस्। 'क' भनेको कलम, सधैं भनिराखेको र देखिराखेको हो, अब पढेर यसलाई बुझ्ने है।' शर्माले कखरा सिकाउन सुरु गरे। 'ल अब घर भन्नुस्,' वृद्धावृद्धाले एकै स्वरमा भने 'घर'। घर भनेको जानेकै कुरा हो, तर यसलाई कसरी लेख्ने र पढ्ने भनेर सिकेपछि जानिन्छ।
सबैलाई साक्षर बनाउने सरकारी अभियानअन्तर्गत जिल्ला शिक्षा अधिकारी शर्माले आफैं वृद्धवृद्धालाई पढाउन थालेका हुन्। भजनकीर्तन र गफ गर्न राम्रै जान्ने भरतपुरका वृद्धवृद्धाले पढाइ सुरु गरे।
'२०३० सालमा श्रीमान् बितेपछि निक्कै कष्टले छोराछोरी हुर्काएँ,' ७८ वर्षे गोमाले विगत सुनाइन्, 'साउँ अक्षर नजान्दा धेरै हन्डर पनि खाएँ।' उनका छोराछोरी कोही विदेश छन्, कोही चाहिँ जिल्लामै बसेर काम गर्छन्। उनी चाहिँ बुढेसकालमा आफ्नो पढ्ने रहर पूरा गर्न जुटेकी छन्।
'अलिक आँखा कम देख्छु,' उनले भनिन्, 'जँचाएर चस्मा लाएर भए पनि अक्षर चिनेर स्वस्थानी र भागवत पढ्नसक्ने बन्छु।'
साठी कटेकी यज्ञकुमारी सिलवाल पनि संगीहरूसँग मन्दिर-मन्दिरमा भजन गाउँदै हिँड्छिन्। तर, भगवानका गीत गाउने अक्षर भने फिटिक्कै चिन्दिनन्। गीता र देवीभागवत कण्ठ गरेर भजन गाउने ईच्छा पूरा गर्न उनी पढ्न आएकी हुन्।
'त्यसबेला छोरीले पढे बिग्रन्छ भन्थे,' सिलवालले भनिन्, 'हामीलाई मास्टरको मुखै हेर्न दिँदैनथे। तर, अहिले नातिनातिनाले पनि हजुरआमा पढ्नुस् भन्छन्।' उमेरले नयाँ कुरा सिक्नलाई नरोक्ने ८० वर्षे श्रीभक्त वाग्लेको भनाइ छ। उनी भन्छन्, 'नपढेर धेरै पछि परियो, नयाँ सूचना थाहा पाउन पनि पढ्नैपर्ने रहेछ।' आफ्नै घरमा नयाँ प्रविधि भए पनि अक्षर नचिन्दा बुढाबुढीलाई समस्या पर्ने गरेको उनको अनुभव छ।
|



