१५ दिनमा सिरहामा एउटै हतियार बुझाइएन


मिथिलेश यादव, लहान, चैत ४- 'साना हतियारको राजधानी' भनेर चिनिएको सिरहामा प्रहरीले अवैध हतियार संकलन अभियान थालेको १५ दिन बिते पनि कसैले पनि एउटै हतियार पनि बुझाएका छैनन्। प्रहरीले अवैध हतियार संकलनमा सफलता नपाए त्यसले आगामी चुनावलाई समेत असर पार्नसक्ने स्थानीयको भनाइ छ।
जिल्लालाई अवैध हतियारबाट मुक्त गराउने कार्य चुनौतीपूर्ण रहेको प्रहरीको भनाइ छ।





जिल्ला प्रहरी कार्यालय, सिरहाका एसपी मनोज न्यौपानेले भने, 'राजनीतिक दल, सर्वसाधारण लगायतसँग समन्वय गरी अवैध हतियार संकलन अभियान थालिए पनि उपलब्धी हात लागेको छैन।' अब सर्च अभियान सुरु गरी चुनावअघि नै अवैध हतियार निमिट्यान्न पार्न कसरत सुरु गरिने उनको भनाइ छ।
जिल्लामा ठूलाभन्दा पनि साना हतियारको बिगबिगी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद ढकालले भने,‘अपराधीले सजिलैसँग हतियार बुझाउला भन्ने अवस्था छैन। सर्च र खानतलासीले मात्र केही हुन सक्ला।'
गृह मन्त्रालयले सूचीकृत गरेको अतिसंवेदनशील जिल्लामध्ये यो पहिलो नम्बरमै पर्छ। तराईको भूमिगत गतिविधि, अपहरण, हत्या, चन्दा असुली लगायत आपराधिक गतिविधि अरु जिल्लाको तुलनामा यो जिल्लामा बढी छ। सशस्त्र प्रहरी, सिरहाका प्रमुख एसपी इन्द्रराज कार्की भन्छन्, 'अवैध साना हतियार रहनु सुरक्षाका दृष्टिले संवेदनशील कुरा हो। यहाँका अधिकांश स्थानीयको सम्बन्ध भारतीय नागरिकसँग हुने भएकाले पनि अवैध साना हतियार राख्ने क्रम मौलाएको छ।' भारतबाट लुकाएर ल्याई भिœयाउन सजिलो हुने भएकाले पछिल्लो समयमा सानो हतियार छ्याप्छ्याप्ती हुन लागेको प्रहरीको भनाइ छ।
तोकिएको समयभित्र हतियार बुझाउनेलाई कारबाही नगर्ने र त्यसपछि हतियार फेला परेमा कारबाही गरिने सूचना जारी गरे पनि प्रभावकारी देखिएको छैन। अधिकांश साना हतियार सिकारुभन्दा पनि प्रोफेसनल अपराधीसँग रहेको प्रहरी अधिकारीको भनाइ छ। राजनीतिक संरक्षण पाएकाले त्यस्ता अपराधीले सजिलैसँग हतियार बुझाउन आनाकानी गर्दै आएका छन्।

सिरहामा विभिन्न समयमा प्रहरीले पक्राउ गरेका
व्यक्तिहरूमध्ये अधिकांशबाट ‘कटुवा' बरामद गर्दै आएको छ। प्रहरी संगठनमा पनि दुर्गभ मानिएको अमेरिकन र इटालियन स्वचालित साना साइजको पेस्तोल समेत प्रहरीले अपराधीबाट बरामद गरिसकेको छ। खुला सिमानाको फाइदा उठाउँदै साना हतियार नेपाल भित्रिने गरेको छ। हतियार भिœयाउन नेपाल र भारत दुवै मुलुकका अपराधीको सञ्जालले काम गरेको प्रहरीको भनाइ छ।
सिरहामा ३ सय ३२ जनाले मात्र बन्दुक राख्न लाइसेन्स लिएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सबैले ठूलो बाह्रबोरको एकनाले-दुईनाले बन्दुकको लाइसेन्स लिएका छन्। द्वन्द्वकालमा कतिपयले लाइसेन्स भएका हतियार पनि प्रहरीलाई बुझाइसकेका छन्। सुरक्षाका लागि भन्दै प्रहरीमा बुझाइएका हतियार कहाँ, कुन अवस्थामा छन् भन्ने प्रहरी-प्रशासनलाई थाहा छैन। लाइसेन्स दिने निकाय जिल्ला प्रशासन कार्यालय भएकाले ती हतियारबारे उसैलाई जानकारी हुनुपर्ने प्रहरीको भनाइ छ।
पछल्लोपटक पाँच महिनाअघि धनगढी-९ का शिवकुमार साहको हत्यामा सानो हतियार प्रयोग गरिएको थियो। चार वर्षमा साना हतियारबाट मारिनेको संख्या २८ रहेको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०६५/६६ मा सानो हतियारबाट १३ जना मारिएका थिए। यो अवधिमा हातहतियार तथा खरखजानाका ४ सय मुद्दा प्रशासनमा दर्ता गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०६४/६५ मा हातहतियार खरखजानाका ५३ मुद्दामध्ये २१ वटा किनारा लागिसकेका छन् । २०६५/०६६ मा ५२ मुद्दामध्ये १८ वटा किनारा लागे। २०६६/०६७ मा ५९ मुद्दामध्ये १७ वटा किनारा लागे। २०६७/६८ मा ७३ वटा मुद्दामध्ये १९ वटा किनारा लागे। २०६८/६९ मा ८९ मुद्दामध्ये १६ वटा किनारा लागे भने २०६९ /७० मा ७१ मुद्दामध्ये २१ वटा किनारा लागिसकेका छन्। अघिल्लो वर्ष किनारा लाग्न नसकेका मुद्दा आउँदो वर्षमा थपिँदै जान्छ।