बानेश्वरमा खुशीयाली, रामशाहपथमा बिलौना !


रेग्मीले 'झगडिया' भेटेकोमा पूर्वप्रधानन्यायाधीशको आपत्ति


२८ फागुन, काठमाडौं । राजनीतिक दलका नेताहरुले सोमबार प्रधान्यायाधीश खिलराज रेग्मीको निवासमै पुगेर बाधा अड्काऊ फुकाऊबारे छलफल गरे ।रेग्मीसँगको छलफलपछि शीर्ष नेताहरु सीधै नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालय पुगेर थप छलफलमा जुटे ।

सहमति बन्दै गएकोमा यसरी नेताहरु खुशी भैरहेका बेला राम शाहपथस्थित सर्वोच्च अदालतसँगै जोडिएको नेपाल बार एसोसिएसनको सभा कक्षमा भने सोमबार पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख एवं केही बरिष्ठ कानून व्यवसायीहरुले मुलुक बर्बाद भएको भन्दै अरन्य ‘बिलाप’ गरेका छन् ।



‘तपाईले कल्पना गरेर निर्माण गर्नुभएको घर आँधीले भत्कायो भने जसरी बोल्न सक्नुहुन्न, ३० वर्ष कानून क्षेत्रमा काम गरेको मेरो घर आज यसैगरी भत्कियो, म हतप्रभ भएको छु ।’- पूर्वप्रधानन्यायाधीश अनूपराज शर्माले भन्नुभयो-’अन्तरिम संविधानको धारा १५८ लाई भस्मासुरले जसरी ध्वस्त पार्न खोजिएका बेला विलाप गर्नुबाहेक अब हामी के नै गर्न सक्छौं र ।’

प्रधानन्यायधीश रेग्मीले सोमबार दिउँसो आफ्नै निवासमा दलका शीर्ष नेताहरुलाई भेटेको भन्दै त्यसको विरोधमा संवैधानिक कानून व्यवसायी मञ्चले सोमबार बेलुका नेपाल बारको सभाकक्षमा ‘पत्रकार भेटघाट’ कार्यक्रम राखेको थियो । कार्यक्रममा पूर्वप्रधानन्यायधीश शर्माजस्तै ‘बिलाप’ गर्नेमा पूर्वसभामुख सुभासचन्द्र नेम्वाङ पनि हुनुहुन्थ्यो । ‘म कसरी विश्वास गरौं, प्रधानन्यायधीश अन्तरिम संविधानविपरीत जानुभयो Û छक्क पर्नु र स्तब्ध हुनुबाहेक मैले केही भन्न सकिरहेको छैन ।’

बरिष्ठ अधिवक्तासमेत रहनुभएका पूर्वसभामुख नेम्वाङले कार्यक्रममा भन्नुभयो- ‘हामी चुक्यौं भने अप्ठ्यारोमा पछौं, पश्चाताप गर्ने समय पनि पर्याप्त हुन्छ हुँदैन, मलाई शंका छ ।’

रेग्मीले ‘झगडिया’ भेटेको भन्दै आपत्ति

कार्यक्रममा बोल्ने पूर्वप्रधानन्यायाधीश रेग्मी र पूर्वसभामुख नेम्वाङ दुबैले बहालवाला प्रधानन्यायाधीश रेग्मीले विचारधीन मुद्दाका पक्ष रहेका दलका नेतालाई भेटेकोमा आपत्ति जनाउनुभयो । शर्माले दलका नेताहरुलाई प्रधानन्यायधीशले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा भेट्नु भनेको ‘झगडिया भेट्नुसरह’ भएको बताउनुभयो । उहाँले भन्नुभयो-’न्यायाधीश आचारसंहिता अनुुसार झगडियासँग भेट्न र वार्तामा बस्न हुँदैन । डाका मुद्दामा मात्र हैन, राजनीतिक मुद्दामा पनि झगडिया हुन्छन् ।’

प्रधानन्यायधीश रेग्मीमाथि सभामुख नेम्वाङको प्रश्न थियो-’अब ७५ वटै जिल्लाका डाका, बलत्कारी, चोर र जालसाजी गर्नेहरुले क्वार्टर-क्वार्टरमा गएर न्यायाधीशसँग वार्ता गर्छु र मुद्दा सच्याउँछु भनेको खण्डमा न्यायाधीशले भेट दिने कि नदिने ?’ नेम्वाङले भन्नुभयो-’अदालतमा चारवटा मुद्दा विचाराधीन छन्, दुर्यवटाको सुनुवाई चैत्र १ मा हुँदैनभने अर्कोको सुनुवाइ चैत्र २९ मा हूँदैछ । यस्तो अवस्थामा बहालवाला न्यायाधीशले झगडियालाई भेट्ेकोमा मलाई विश्वास नै लागेन ।’

नेताहरुले प्रधानन्यायाधीशलाई भेट्ने खबर नपत्याएर सिंहदरबारमा गई सरकारले निकालेको गोरखापत्र पढेपछिमात्रै पत्याएको र ऋषि धमलाले भनेपछि विश्वास गर्न बाध्य भएको नेम्वाङले बताउनुभयो । ‘भगडिया नेतालाई रेग्मीले भेट दिनुहुन्न र गेटबाटै फर्काउनुहुन्छ, नेताको हरिबिजोग हुने भो भन्ने आफूलाई लागेको सुनाउँदै नेम्वाङले गुनासो पोख्नुभयो-’हामी त एकदम अप्ठ्यारोमा पौ पर्यौं । स्वतन्त्र न्यायपालिकालाई मान्छौं भन्नेहरुले नै न्यायपालिकालाई अप्ठ्यारोमा पारे ।’

बाधा अड्काऊको विरोधमा कथा

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश शर्मा र पूर्वसभामुख नेम्वाङ दुबैले कथा सुनाउँदै भन्नुभयो- बाधा अड्काऊमार्फत् संविधान संशोधन गर्न मिल्दैन । भष्मासुरले टाउकामा हात राखेजसरी धारा १५८ नै ब्रह्मास्त्र हो भन्ने ठानेर दलका नेता र प्रधानन्यायधीशले आफ्नै टाउकामा हात राखेको शर्माको आरोप छ । शर्माले वबहालवालामात्रै होइन, पूर्वन्यायाधीशलई पनि प्रधानमन्त्री बनाउन नमिल्ने जिकिर गर्नुभयो ।

शर्माले राजनीतिक दलले बनाएको मस्यौदाप्रधानन्यायधीशले जाँच्न नमिल्ने बताउँदै भन्नुभयो- ‘दलले मस्यौदा प्रधानन्यायधीशसुमक्ष पेश गर्नु नै दुःखद हो । न्यायधीशले इजलास बाहिर सल्लाह दिँदैन । भोलि नेताहरुले अदालतमा दिने जवाफ पनि प्रधानन्यायधीशलाई देखाए के हुन्छ ?’

त्यसैगरी नेम्वाङले विरालाको कथा सुनाउँदै भन्नुभयो, बाधा अड्काऊ फुकाउने नाममा बनाइएको सेतो बिरालो छिर्ने दुलोमा कालो बिरालो पनि छिर्छ ।’ बाधा अड्काऊ फकाउने धारालाई नै संशोधन गर्न खोजेर ‘संवैधानिक जालसाजी’ गरिएको नेम्वाङको आरोप छ ।

राजनीतिक समस्यालाई समाधान गर्न संविधानवादलाई बिर्सन नहुने र अप्ठ्यारो पर्दा संविधानलाई दराजमा थन्क्याएर भोटे ताल्चा ठोक्न नमिल्ने नेम्वाङको तर्क थियो ।

कार्यक्रममा नेपाल बारका अध्यक्ष हरिकृष्ण कार्की र उपाध्यक्ष टीकाराम भट्टराईले पनि बोल्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस नेता शेखर कोइराला, पत्रकार कनकमणि दिक्षीत, का्रग्रेससमर्थित नागरिक समाजका डा. केदारनरसिंह केसी, अधिवक्ता कुमार रेग्मी राजनीतिक विश्लेषक मुमाराम खनाल र पत्रकार ऋषि धमलालाई समेत आतिथि आसन ग्रहण गराइएको थियो । कार्यक्रममो अध्यक्षता मञ्चका अध्यक्ष रविराज खनालले गर्नुभएको थियो ।