पोखरामा मिटरबिनाका ट्याक्सी : तीन किलोमिटरको भाडा अढाइ सय
![]() |
मनोज अधिकारी, पोखरा, चैत ४- काठमाडौंका हरिश जोशी केही दिनअघि पोखरा ओर्लनेबित्तिकै ट्याक्सीको एम्बुसमा परे। कलंकीबाट ५ सय रुपैयाँ भाडा तिरेर पर्यटक बसमा २ सय किलोमिटर दूरीको पृथ्वीचोक आइपुगेका उनले तीन किलोमिटर टाढा लेकसाइडस्थित होटलमा पुग्न २ सय ५० रुपैयाँ तिर्नुपर्यो।
पर्यटकीय नगरी पोखरा आउने जोकोही पृथ्वीचोकमा झर्नेबित्तिकै ट्याक्सी चालकको घेरामा पर्छन्। उनीहरूका ब्याग तानातान गर्दै ट्याक्सीमा हाल्ने र मोलमोलाइ गर्दै हात समाउने र चढाउने हर्कत सामान्य हुन्छ।
बलजफ्ती चढेका यात्रु ट्याक्सी चालकबाट छोटो दुरीमै दुई-तीन सय रुपैयाँ भाडा सुनेर आतिन्छन्। यात्रुले मिटर चलाउन आग्रह गरे पनि यहाँका अधिकांश ट्याक्सीको मिटर चल्दैन।
'भाडामा चित्त नबुझेर अर्कJ ट्याक्सी चढ्न खोजेको थिएँ,' जोशीले भने, 'क्युमा जुन छ, त्यसैमा चढ्नुपर्दोरहेछ। आफूले रोजेको र चित्तबुझ्दो भाडाको ट्याक्सीमा चढ्न पनि पाइएन।'
जोशी मात्र होइन, चोकैपिच्छे ट्याक्सी इकाइ गठन गरेका व्यवसायीको सिन्डिकेटले यहाँका जोकोही यात्रुको सेवा छनोट गर्ने अधिकारबाट वञ्चित छन्। यसमा सम्बन्धित निकायको ध्यान नपुग्दा दैनिक सयौं यात्रुबाट हजारौं रुपैयाँ ठगी भइरहेको छ।
ट्याक्सीवालाको यही लुटशैलीबारे कैयौं गुनासो सुनेपछि जिल्ला प्रशासन कास्कीले अनिवार्य रूपमा मिटर जडान गर्न र भाडा समायोजन गरी सञ्चालन गर्न सूचना जारी गरेको छ। चैत ७ भित्र मिटर समायोजन नगरे ट्याक्सी चल्न नदिने जिल्ला प्रशासनको तयारी छ। यसमा पोखरा ट्याक्सी व्यवसायी समितिले सहयोग र समर्थन गर्ने जनाएको छ।
'यात्रुमाथि जथाभावी लुट गर्ने ट्याक्सीमाथि प्रशासनले कडा कदम चाल्छ,' कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले नागरिकसँग भने, 'चैत ७ भित्र बिनामिटरका ट्याक्सी चल्न पाउँदैनन्। यसका लागि प्रशासन तयारी अवस्थामा छ।'
प्रशासनले समितिलाई यसबारे अवगत गराउँदै आफ्ना ट्याक्सीमा अनिवार्य मिटर जडान गरी भाडा समायोजन गरेर मात्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। प्रशासनको पहलप्रति सकारात्मक हुँदै समितिले पनि मिटर समायोजन प्रक्रियाअघि बढाएको जनाएको छ।
समितिका अध्यक्ष गान्धीराज गिरीले प्रशासनको निर्देशनपछि धमाधम ट्याक्सीहरूले मिटर समयोजन गर्न थालेको जानकारी दिए। उनका अनुसार गण्डकी अञ्चल यातायात कार्यालयमा करिब ४ हजार ५ सय ट्याक्सी दर्ता छन्। तीमध्ये पोखरामा मात्रै करिब २ हजार ५ सय ट्याक्सी चल्ने गर्छन्।
'अहिलेसम्म करिब ८ सय ट्याक्सीले मिटर समायोजन गरेका छन्,' गिरीले नागरिकसँग भने, 'अरुले गर्दैछन्। अब यात्रुलाई मिटरबिना जथाभावी भाडा असुल्नेमाथि कारबाही गर्न समितिले पनि प्रशासनलाई सहयोग गर्छ।'
उनले पेट्रोलको मूल्यअनुसार अहिलेको भाडा समायोजन दर मिलेको बताए। ट्याक्सी चढेपछि सुरुमा १० रुपैयाँ मिटर उठ्ने र त्यसपछि प्रत्येक २ सय मिटर दूरीमा ६ रुपैयाँ ४० पैसा थप भाडा चढ्ने गिरीले जानकारी दिए। 'हामी भाडा समायोजन गरेर मिटर चलाउन तयार छौं,' उनले भने, 'यो भाडादर सधैंका लागि होइन। पेट्रोलको मूल्य बढे फेरि भाडा पनि समायोजन हुनुपर्छ।'
सरकारले पेट्रोलको मूल्यवृद्विअनुसार पछिल्लोपटक समायोजन गरेको भाडामा नगुडी यहाँका ट्याक्सीले आफूखुसी एक किमिकैसय रुपैयाँ लिएर यात्रु ठग्दै आएका थिए। ट्याक्सी चालकले भने जबर्जस्ती गरेर ठगेको नभई यात्रुबाट आपसी समझदारीमा भाडा लिँदै आएको दाबी गरेका छन्।
जिल्ला अनुगमन समिति, प्रहरी, जिल्ला प्रशासन कार्यालय, गुणस्तरण तथा नापतौल विभाग, उपभोक्तावादी लगायतको बेवास्ताले ट्याक्सी व्यवसायीले मनपरी भाडा असुल्दै आएका छन्।
'ट्राफिक प्रहरीले मोटरसाइकलको लुकिङ ग्लास बाँगो भयो भने त्यसैलाई निहुँ बनाएर २-४ सय रुपैयाँ जरिवाना गराउँछ,' एक यात्रुले गुनासो गरे, 'हामी ट्याक्सी चढ्दा मिटर नचलाई खुलेआम ठगेको त्यही ट्राफिकले अनुगमन गर्दैन। '
मिटर नचल्ने हुनाले एउटै दूरीमा यहाँका ट्याक्सीले यात्रुपिच्छे फरक-फरक भाडा दर असुल्ने गरेका छन्। चालकको मनपरीले यात्रुले छोटो दुरीको यात्रामा पनि दुई-तीन सय रुपैयाँ तिर्नुपरेको अर्का एक यात्रुले बताए। आफूले यसबारेमा पटकपटक ट्राफिक प्रहरीलाई जानकारी गराए पनि वास्ता नगरेको उनको गुनासो छ।
'पृथ्वीचोकबाट महेन्द्रपुल जाँदा करिब एक किलोमिटर दूरीमै एक सय रुपैयाँ भाडा तिर्नुपर्यो,' उनले भने,'मैले मिटर चलाउभन्दा उल्टै हप्काउँदै पोखरामा कुनै ट्याक्सीमा मिटर चल्दैन भन्ने जवाफ दिए।'
मिटरजडित ट्याक्सी सामान्यतः एक दिनमा १ सय २० किलोमिटर गुड्ने, वर्षमा ३ सय २० दिन चल्ने, २० प्रतिशत बिनायात्रु गुड्नुपर्ने, एक लिटर पेट्रोलले ११ किलोमिटर गुड्ने र ट्याक्सीको आयु १० वर्ष हुने मान्यताहरू भाडा समायोजनका आधार हुन्।
![]() |