कांग्रेसले बहुमत नल्याए फेरि संविधान बन्दैन : महामन्त्री सिंह


काठमाडौ, चैत १० – नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभा चुनावमा कांग्रेसको बहुमत नआए फेरि पनि संविधान नबन्ने दाबी गर्नुभएको छ ।

काठमाडौको चाल्नाखेलमा कांग्रेस गाउँ इकाइले शनिबार गरेको कार्यक्रममा महामन्त्री सिंहले संविधान बन्नका लागि कांग्रेसको बहुमत आउनै पर्ने जिकिर गर्नुभयो ।

एकीकृत नेकपा माओवादी अझै पनि इमान्दार बन्न नसकेको भन्दै महामन्त्री सिंहले कांग्रेसको बहुमत आए माओवादीलाई लोकतान्त्रिक बाटोमा ल्याउन सकिने र संविधान पनि बन्ने दावी गर्नुभयो ।

खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्नु बाध्यता भन्दै सिंहले चुनावी सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । महामन्त्री सिंहले चैत १५ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठक र २६ गते हुने महासमिति भेलाले चुनावको रणनीति तय गर्ने जानकारी गराउनुभयो ।