अहिलेका प्रधानमन्त्री र मन्त्रीको गन्तव्य जेलः बामदेव




जनकपुर , माघ २४ - एमाले उपाध्यक्ष वामदेव गौतमले भ्रष्टाचारमा लिप्त वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको अबको गन्तव्य जेल रहेको बताएका छन् ।
विपक्षी  दलले बुधवार जनकपुरको तिरहुतिया गाछीमा गरेको विरोध सभामा उनले वर्तमान सरकारलाई इतिहासकै सर्वाधिक भ्रष्ट सरकारको संज्ञा दिए । 'वर्तमान सरकार भ्रष्टाचारमा लिप्त छ,' उनले भने, 'भ्रष्टाचारमा लिप्त मन्त्रीहरुको बास जेलमै हुन्छ ।' गौतमले वर्तमान सरकारले बिप्पा सम्झौता गरेर राष्ट्रघात गरेको आरोप समेत लगाए ।
कांग्रेस सभापति सुशील कोइरालाले बाबुराम भट्टराई नेतृत्वको  सरकार लोकतन्त्र विरोधी रहेको आरोप लगाउादै यसलाई तत्काल हटाउनु पर्ने बताए । उनले मधेसवादी दलहरु पैसा कमाउन सरकारमा सहभागी भएको आरोप लगाए । उनले काग्रेस जन्मकालदेखि नै मधेस र मधेसीको हितमा काम गरेको दावी पनि गरे ।   
सभालाई काग्रेसका उपसभापति रामचन्द्र पौडेल, पूर्व महामन्त्री विमलेन्द्र निधि, पूर्व मन्त्री आनन्दप्रसाद ढुंगाना, एमाले नेता रघुवीर महासेठ, केशव देवकोटालगायतले सम्बोधन गरे ।