सुपर मोडलमा छानिए युवती



आफूमा भएको क्षमता देखाउँदै आगामी फागुन ५ गते विराटनगरमा हुने पूर्वाञ्चल सुपर मोडल प्रतियोगिताका लागि १५ जना युवती छानिएका छन्। आयोजक एवन इन्टरटेन्मेन्टले शनिबार विराटनगरमा सम्पन्न गरेको  अडिसनमा आएका १८ युवतीमध्येबाट सोधिएका प्रश्नहरूको सहज उत्तर दिनेहरू फाइनल स्पर्धाका लागि छानिएका हुन्।

फाइनल प्रतियोगिता अघि दिइने तालिमबाट सुधार आउन सक्नेहरूलाई छनौट गरिएको बताउँदै आयोजक एवनका निर्देशक निराजन लुइँटेलले बाँकी आठ जना थप गरेर प्रतियोगितामा उतारिने बताए। एक वर्षपछि विराटनगरमा हुन  लागेको मोडल प्रतियोगिताले यहाँको फेसन र मोडलिङको बजारलाई केही ऊर्जा दिने यहाँका मोडलहरूको फोटोसेसन गर्दै आएका संजय श्रेष्ठ बताउँछन्। अडिसनबाट पूर्वका बिभिन्न सहरका युवतीहरू प्रेरणा खड्का, निकिता कार्की,  प्रियङ्का दाहाल, सुस्मिता श्रेष्ठ, नीता कार्की, एलिना जोशी, भावना दाहाल, पण्डिता राई, अनुपमा बास्तोला, स्नेहा थापा, जिनु सुशेदी, इशुदा बिके, मायुशा जैन, अमुल्या रायामाझी एवं प्रिया पुरी छनौट भएका छन्।

उनीहरूलाई क्याटवाक र वक्तृत्वकलाको तालिम दिएर फाइनलमा उतारिने कोरियोग्राफर जतिन ताम्राकारले बताए। मिस पूर्वाञ्चलका लागि सात जना अडिसनमा आएका थिए भने मिस नेपालका लागि एकै जना पनि आएका थिएनन्।  विराटनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुँदा स्थानीय मोडलको अभावमा धरान र काठमाडौंबाट बोलाइन्छ।