न्यूनतम तलब १२ हजार ४ सय बनाउन माग
![]() |
काठमाडौं, फागुन १४ (नागरिक)- एकीकृत माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले सबै पेसामा काम गर्ने मजदुरको मासिक तलब न्यूनतम १२ हजार ४ सय रुपैयाँ गराउन सरकारसँग माग गरेको छ।
महासंघ अध्यक्ष शालिकराम जम्कट्टेलले आइतबार सरकारलाई ज्ञापनपत्र बुझाउँदै ज्यालादारी मजदुरको दैनिक ज्याला ६ सय ५० रुपैयाँ कायम गर्न माग गरे।
श्रममन्त्री पोस्टबहादुर बोगटीलाई ज्ञापनपत्र बुझाउँदै जम्कट्टेलले सामाजिक सुरक्षा कोषमा व्यावसायिक र सरकारले २०, २० प्रतिशत रकम तत्काल थप गर्न माग गरे। 'सामाजिक सुरक्षावापत १ प्रतिशत तलब काटिएका श्रमिकहरुलाई तत्काल परिचयपत्र उपलब्ध गराइयोस्,' ज्ञापनपत्रमा उल्लेख छ।
विभिन्न समयमा सरकार र मजदुर संंगठनबीच भएका सहमति तत्काल कार्यान्वयन गर्न पनि महासंघले माग गरेको छ। मजदुरहरुको सामाजिक सुरक्षा कोष ऐन, नयाँ श्रम ऐन, बेरोजगार भत्ता ऐन, राष्ट्रिय मजदुर आयोग ऐन, ट्रेड युनियन बोनस ऐनहरु तत्काल जारी गर्न महासंघले माग गरेको छ।
महासंघले राज्यका नीति निर्माण तहमा मजदुर वर्र्गबाट १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेको छ। ६ बुँदे मागसहित सरकारलाई बुझाएको ज्ञापनपत्रमा संविधानसभाको चुनाव तत्काल सुनिश्चित गर्न महासंघले माग गरेको छ। स्थायी प्रकारको पेसा व्यवसायमा ठेकेदारी र करार प्रथाको अन्त्य गर्न महासंघले माग राखेको छ।
त्यसअवसरमा ज्ञापनपत्र बुझ्दै श्रममन्त्री बोगटीले न्यूनतम ज्याला निर्धारण समितिमा उल्लेखित बुँदामा छलफल गर्ने प्रतिबद्धता जनाए। टे्रड युनियन र रोजगारदाताबीच छलफल गराएर सामाजिक सुरक्षा लगायत श्रम सम्बन्धी ६ ऐन शीघ्र ल्याउन पहल गर्न मन्त्री बोगटीले आश्वासन दिए।
सामाजिक सुरक्षावापत तलवमा १ प्रतिशत रकम काटिएका मजदुर कर्मचारीलाई परिचयपत्रको व्यवस्था र अस्थायी, करार व्यवस्था अन्त्यका लागि ऐनमा व्यवस्था गर्न सम्बन्धित निकायमा छलफल गर्ने बोगटीको भनाई उद्धिृत गर्दै महासंघका महासचिव गणेश रेग्मीले बताए।
![]() |