विदेशमा नेपाली स्वाद चखाउँदै श्री गुरुङ
![]() |
शिव शर्मा
जीवनमा सफलता प्राप्तिका लागि परिश्रम, धैर्यता एवं हौसलाको आवश्यकता पर्छ। यही सूत्र लिएर हिँडेका पोखराका युवा श्री गुरुङले विदे शमा रहेर पनि त्यो सफलता हासिल प्राप्त गरे, तर उनी भने अझै पनि आफूले धेरै गर्न बाँकी रहेको बताउँछन्। भलिबलका पूर्व राष्ट्रिय खे लाडी तथा प्रशिक्षक श्री गुरुङले सात समुन्द्रपारि बसेर पनि त्यो सफलता हासिल गरेका छन्। कास्कीको पर्यटकीय गाउँ लुम्ले तान्चोकमा जन्मिएर पोखराको बगरलाई कर्मथलो बनाउँदै आएका गुरुङले लामो समय राष्ट्रिय भलिबल खेलमा आफूलाई समर्पित गरे। उनले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको अध्यक्ष, भूतपूर्व खेलाडी मञ्चको सदस्यजस्ता पदमा लामो समय बिताए तर देशको अन्यौलग्रस्त राजनीतिक परिस्थितिले खेल क्षेत्रको व्यावसायिक विकास हुन नसकेपछि १९८१ मा जापान पुगे। १९९७ सम्म जापानमा रेस्टुराँमा कामको अनुभव संगालेका गुरुङ त्यसपछि स्वदेश फर्किए। झन्डै एक वर्ष स्वदेश बस्दा पनि स्थिति अनुकूल नभएपछि उनी पुन बेलायत पुगे।
झन्डै सात वर्ष बेलायत बसेपछि उनले केही समय पोखरामा पर्यटकीय रेस्टुराँ सञ्चालन गरे, तर मुलुकको अवस्था एवं बिग्रँदो परिस्थितिले उनलाई पुनः बिदेसिन बाध्य तुल्यायो। खेलुकदमा पनि राम्रो छवि बनाएका गुरुङ खेल क्षेत्रको व्यावसायिक विकास हुन नसकेको देखेर दिक्क भए। तीन वर्षदेखि पुन जापानमा बस्दै आएका गुरुङले विदेशी भूमिमै आफूलाई सफल व्यवसायीका रूपमा उभ्याएका छन्। उनले लामो समय देश विदेशमा गरेको कामको अनुभवलाई सार्थक मात्र तुल्याएनन ठूलो सफलता समेत पाए। जापानको राजधानी टोकियोमा बसोबास गर्ने गुरुङ रेस्टुराँ व्यवसायमा सफलता हासिल गरेपछि हौसिएका हुन्। उनले एक साथ दुई रेस्टुराँ सञ्चालन गरेर राम्रै आम्दानी गर्दै आएका छन्। जापानजस्तो महँगो मुलुकमा दुई-दुई वटा रेस्टुराँ सञ्चालन गर्नु चानचुने कुरा होइन, तर श्रीले आँट र सहास बटुलेर खोलेको रेस्टुराँबाट मनग्य आम्दानी गरिरहेका छन्। नेपाली परिकारसँगै एसियन परिकारहरूको उच्चस्तरीय सुविधा उनले आफ्नो रेस्टुराँमा उपलब्ध गराएका छन्। कुनै बेला रेस्टुराँमा काम गरेका गुरुङले आफ्नो त्यो अनुभव र सीप प्रयोग गर्न साहस बटुलेर विदेशी भूमिमा १ करोड २० लाख रुपैयाँ खर्चेर रेस्टुराँ सञ्चालन गरे।
गुरुङको रेस्टुराँले नेपाली सँगै विदेशीहरूलाई समेत लोभ्याइरहेको छ। नरम व्यवहार एवं पाहुनाअनुरूपको स्वागत-सत्कारका कारण उनका दुवै रेस्टुराँमा ग्राहकको भीड लाग्ने गरेको छ। लगानी गरेअनुरूपको कमाइ भएकाले सन्तुष्ट गुरुङले विदेशमा आएर रेस्टुराँ व्यवसाय गर्ने सोच बल्ल पूरा भएको बताए। 'यो सबै मेहनत र आफूले सिकेको सीपको परिणाम नै हो,' गुरुङले सन्तोष व्यक्त गर्दै भने, 'विदेशमा बसेर पनि व्यावसायिक सफलता प्राप्त गर्दा खुसीको सीमा छैन।' उनले व्यवसायसँगै नेपाली परम्परागत परिकारलाई विदेशहरूमाझ परिचित गराउने काम पनि गरेको बताए। नेपालमै लगानी गर्ने सोच बनाए पनि मुलुकको राजनैतिक वातावरणले खेलक्षेत्रबाट समेत विमुख भएर बिदेसिएका गुरुङले विदेशमा रहेर पनि व्यावसायिक सफलता हात पारेका छन्। त्यही सफलताबाट हौसिएका गुरुङले आफ्ना रेस्टुराँहरू जापानका अन्य मुख्य सहरमा पनि विस्तार गर्ने सोच बनाएका छन्।
कहिले बेलायत त कहिले नेपालमै परिस्थितिसँग संघर्ष गर्दै हिँडेका गुरुङ पछिल्लो तीन वर्षको छोटो अवधिमै जापानमा सञ्चालन गरेको रेस्टुराँकै कारण नेपालीहरूमाझ सफल युवा व्यवसायीका रूपमा आफूलाई उभ्याउन सफल भएका छन्। व्यावसायिक सफलताका लागि व्यावसायिक मन तथा चिन्तन भए थप सफलता हासिल गर्न सकिने गुरुङको अनुभव छ। उनी आफ्नो सफलताका पछाडि श्रीमती सीताको ठूलो हात रहेको कुरा पनि सगर्व बताउँछन्।
गुरुङले टोकियोको नोरियोवार्डमा खोलेको पोखरा किचेन एवं टोकियोकै सिबुया स्टेसनबाट चार मिनेटको दूरीमा मिकादो रेस्टुराँ यतिबेला स्वदेशी एवं विदेशीहरूमाझ लोकप्रिय छ। पर्यटकीय सहर पोखरालाई चिनाउन पनि उनले आफनो रेस्टुराँको नाम पोखरा किचेन राखेका हुन। नेपाली परिकारमा साधारण दालभातदेखि लिएर सबै परिकार उपलब्ध हुने गुरुङले जानकारी दिए। ग्राहकको भीडसँगै सेवा पुर्याउन गुरुङलाई हम्मे-हम्मे पर्छ। रेस्टुराँ व्यवसायसँगै उनी जापानमा नेपालीहरूमाझ विभिन्न खेलुकद प्रतियोगिता सञ्चालन मात्र गर्दैनन्, आफू पनि त्यसमा सहभागी हुँदै आएका छन्। त्यस्तै नेपालका राष्ट्रिय कलाकारहरूलाई जापानमा ल्याएर सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने काममा पनि उनको सक्रियता रहँदै आएको छ। उनी तमु धि जापानका उपाध्यक्षसमेत हुन्। सामाजिक सेवा उनको दैनिकीको अर्को पाटो हो।
गुरुङले सामाजिक सेवाबाट समेत आफूलाई चिनाउँदै लगेका छन्। त्यस्तै बेला-बेलामा पोखराको खेलकुद क्षेत्रमा पनि गुरुङले आर्थिक सहयोग गर्दै आएका छन्। उनले कास्कीका विभिन्न विद्यालयलाई पनि आफ्नो कमाइको केही अंश सहयोग गरेका छन्। 'राजनीतिक वातावरणले गर्दा खेलुकद क्षेत्रबाट पलायन हुँदै बिदेसिनुपर्दा दुःख त लाग्छ नै,' गुरुङले भने, तर हाम्रो देशमा द्वन्द्व सकिएर गणतन्त्र आए पनि कहिल्यै शान्ति महसुस भएन। उनले यही कारण हरेक क्षेत्रका युवाहरू नचाहेर पनि विदेश पलायन हुनु परेको गुनासो गरे। गुरुङले नेपालमा अझै पनि लगानी र व्यवसाय गर्ने अनुकूल वातावरण तयार नहुनुमा राजनैतिक दलहरूको सत्तामोह नै कारक बनेको बताए। विदेशमा रहे पनि मन त नेपालमै छ,' गुरुङले भने, 'जापानमा रहेर पनि आफ्नो ठाउँलाई विभिन्न माध्यमबाट चिनाउने काम गरिरहेको छु।'
![]() |