पहिलो अभ्यास खेलमा नेपालको सफलता


काठमाडौं, फागुन १४ (नागरिक)- अर्को महिना काठमाडौंमा हुने एसिसी ट्वान्टी-२० कप र त्यसपछि बर्मुडामा हुने विश्व क्रिकेट लिग डिभिजन ३ को तयारीमा दिल्ली गएको नेपाली राष्ट्रिय टोलीले पहिलो अभ्यास खेलमा ४२ रनको विजय हात पारेको छ।
-->


नेपालले डिआई खान कोचिङ सेन्टरलाई आइतबार ४२ रनले पराजित गर्‍यो। मैदान भिजेका कारण ४० ओभरमा छोटयाएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल ३९.३ ओभरमा २ सय ३ रनमा अलआउट भयो। जबाफमा डिआइ खान पनि त्यत्ति नै ओभरमा १ सय ६१ रनमा खुम्चियो।
नेपालबाट विनोद भण्डारीले ६९ रन बनाए। उनले ५६ बल खेली ६ चौका र ४ छक्का प्रहार गरे। शरद भेषावकरले ५८ बलमा ४ चौकासहित ४२, सुवास खकुरेलले ४४ बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाए। अनिल मण्डल १६ र बसन्त रेग्मी ७ रनमा आउट भए। घरेलु टोलीका अमन सिरोहीले ८ ओभरमा ५० रन खर्चेर ६ विकेट लिए। निकुन्ज खण्डेलवालको नाममा २ र अंकुर साङवानको नाममा १ विकेट रह्यो। -->

डिआई खानबाट आदित्य सैनीले ३७, सन्नी शंकवरले २३, सागर कल्यानले २१, तिलक ठाकुरले १० रन बनाए। नेपालबाट पारस खडकाले ३ विकेट लिए। उनले ६ ओभरमा १९ रन खर्चे। बसन्त र चन्द्र साउदले २-२ तथा शक्ति गौचन र अमृत भट्टराईले १-१ विकेट लिए।
नेपालले सोमबार विजय दाहिया एकेडेमीसँग एकदिवसीय अभ्यास खेल खेल्ने छ।