लागू हुने भो २ रङको सिलिन्डर




काठमाडौ, माघ १९ - गार्हस्थ प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि नीलो रङको सिलिन्डर कार्यान्वयन गर्न एलपी ग्यास उद्योगी सहमत भएका छन् । त्यसका लागि ग्यास उपभोक्ता कार्ड वितरणदेखि नगद अनुदानसम्मका कार्यविधि बनाउने सहमति भएको आयल निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले बताए ।
'उद्योगीहरू दुई रङको सिलिन्डर लागू गर्न सहमत हुनुभएको छ,' अग्रवालले भने, 'त्यसका लागि उपभोक्ता कार्ड वितरण, नगद अनुदानललगायतको कार्यविधि तयार गर्ने भन्ने भएको छ ।' एलपी ग्यास उद्योग संघले पनि सहमति भएको स्विकारेको छ । संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद घिमिरले राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उक्त कुरा स्विकारे । 'दुई रङको सिलिन्डर ल्याउन सरकारलाई पूर्ण सहयोग गर्ने भएका छौं,' उनले भने ।  गार्हस्थ र व्यापारिक प्रयोजनका लागि ५०/५० प्रतिशत सिलिन्डर बजारमा ल्याउने सरकारको निर्णयप्रति उद्योगी असहमत रहेको घिमिरेको भनाइ थियो । 'प्रतिशत सरकारले नभई बजार र उपभोक्ताको मागले तोकिने हो,' उनले भने, 'नीलो सिलिन्डर २ प्रतिशत मात्रै पनि बिक्री हुन सक्छ ।'
संघको असहयोगका कारण निगमले यसअघि पटकपटक मिति घोषण गरे पनि २ रङको सिलिन्डर कार्यान्वयन गर्न सकेको थिएन । निगमले यसअघि भदौ १ देखि २ रङको सिलिन्डर लागू गर्ने निर्णय गरेको थियो । संघले आन्दोलन गरेपछि निगमले मंसिर १ देखि लागू गर्ने अर्को निर्णय गरेको थियो । त्यसका बाबजुद संघको असहयोगका कारण २ रङको सिलिन्डर पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । केही उद्योगीले सिलिन्डर नीलो बनाएपछि संघलाई सरकारको निर्देशन मान्न दबाब परेको थियो ।
वाणिज्य आपूर्तिसचिव लालमणि जोशीले फागुन १ देखि २ रङको सिलिन्डर लागू हुने बताए । राजधानीमा आयोजित कार्यक्रममा बिहीबार उनले उक्त कुरा बताएका हुन् । 'जसरी पनि फागुन १ देखि दुई रङको सिलिन्डर लागू भएरैै छोड्छ,' उनले 'किन असफल भयो नीलो सिलिन्डर योजना ?' विषयक अन्तरक्रिया कार्यक्रममा  भने । कानुनी प्रक्रिया मिलाउँदा २ रङको सिलिन्डर बजारमा आउन ढिला भएको उनको तर्क थियो । अहिले ट्रेड मार्क, कार्यविधि, अनुदान, मूल्यसूची आदिजस्ता दुई रङका सिलिन्डरसँग जोडिएका विषय मन्त्रिपरिषद्बाट हल भइसकेको उनले बताए ।
दुई रङको सिलिन्डर लागू भएपछि व्यापारिक र गार्हस्थ प्रयोजनमा खपत हुने ग्यासको मूल्य फरकफरक हुने उनले बताए । व्यापारिक प्रयोजनका लागि खपत हुने नीलो सिलिन्डरको ग्यास मूल्य बढ्ने र सर्वसाधारण उपभोक्ताले प्रयोग गर्ने रातो सिलिन्डर ग्यासमा अनुदान दिइने उनको भनाइ थियो ।
ग्यास बिक्रेता महांसघका महासचिव महेश्वर श्रेष्ठले सरकारले डिलर मापदण्ड प्रमाणित नगर्दा ग्यास उपभोक्ता कार्ड वितरणमा समस्या परेको बताए । 'कार्ड लागू भएपछि अनुदान कहिले र कति दिने भन्ने कुरामा सरकार स्पष्ट हुनुपर्छ,' उनले भने ।