पुरुषहरू सारी लगाएर आन्दोलनमा



काठमाडौं, माघ २० - महिला हिंसाविरुद्धको आन्दोलन 'अकुपाई बालुवाटार' जारी छ । तैपनि सरकार कानमा तेल हालेर बसेजस्तो छ । सरकारलाई ब्युँझाउन उनीहरूले के मात्रै गरेनन् ? कहिले सुरुवाल खोलेर बालुवाटारमा देखाए त कहिले थाल ठटाए । गुलाब फूल वितरण गरे । तर त्यही सडक दिनहुँ ओहोरदोहोर गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईले यी दृश्य देखे नदेखेझैं गरे । सुतेकोलाई ब्युँझाउन सकिन्छ, तर सुतेको अभिनय गरेकालाई ब्युँझाउन गाह्रो हुने रहेछ । हैरान परेका अकुपाई बालुवाटारका अभियन्ताहरूले तैपनि सरकारलाई ब्युँझाउन सकिन्छ कि भनेर शुक्रबार पुरुषहरूले सारी लगाएर आन्दोलन गरे । यसको अर्थ थियो, 'महिलाको भूमिकामा आफूलाई प्रस्तुत गर्नु ।
महिलाको भूमिकामा पुरुषलाई प्रस्तुत गर्दा हिंसा कम हुन सक्ने सन्देश दिन खोजेका थिए । आन्दोलनलाई अगुवाइ गरिरहेका जगन्नाथ लामिछानेले भने, 'महिलाले घरमा गर्ने काममा पुरुषहरूले पनि समान भूमिका निर्वाह गर्ने हो भने महिलामाथि हुने हिंसा कम हुन्छ भन्ने ठानेर यो शैली अपनाएको हो ।' उनका अनुसार 'उनी बनेर हेर्दा' भन्ने सारलाई महसुस गर्दै महिलाको पहिरनमा महिला बनेर आफूमाथि भएका पीडा र अन्यायलाई महसुस गरेका हौं । आन्दोलनमा पुरुषहरू सारी र कुर्ता लगाएर सहभागी भएका  थिए । १२/१५ जना पुरुषको समूहले महिलाको पहिरन लगाएका थिए भने बाँकी सहभागीहरूको टाउको सलले ढाकिएको थियो ।
आन्दोलनको फरक शैली भएकाले होला सुरक्षाकर्मीसमेत उनीहरूको प्रदर्शनको मजा लिइरहेका थिए । कार्यक्रममा सारी-कुर्तामा सहभागी पुरुषहरूले हिंसाविरुद्धको भाषणमात्र गरेनन् । महिलाले भोगेका पीडा, व्यथा र अन्यायबारे कविता वाचन गरे । पीडित परिवारका सदस्य र कविहरूले कविता वाचन गरे । कवि मेनुका थापाले बलात्कार भएकी महिलाको पीडाबारे कविता सुनाएकी थिइन् भने कवि चन्द्रवीरले महिलाहरूले अब विद्रोह गर्नुपर्ने सन्देशसहितको कविता सुनाए । राधा पौडेलले बलात्कारबाट मानसिक रूपमा विक्षिप्त भएकी महिलाको व्यथा प्रस्तुत गरिन् ।