म जसलाई प्रेम गर्छु


परिवार र साथी 

म जीवनमा सबैभन्दा बढी प्रेम मेरो आफ्नो परिवारलाई गर्छु। मेरो परिवारमा मेरो बुवा,  आमा र दाजु हुनुहुन्छ। उहाँहरूबिना म पूर्ण हुनै सक्दिनँ। मेरो हरेक सफलताका पछाडि उहाँहरूको ठूलो हात र योगदान छ। बुवा र आमालाई त मैले भगवानकै दर्जा दिएकी छु। मलाई  यो संसार देखाउन महत्वपूर्ण योगदान दिनुहुने मेरा आमा-बुवा नै मेरो सबैथोक हुनुहुन्छ।  परिवारपछि मलाई मेरा साथीहरू असाध्यै प्यारा लाग्छन्। मैले अहिलेसम्म कमाएको सबै भन्दा ठूलो सम्पत्ति भनेकै मेरा साथीहरू हुन्। मिल्ने साथीहरू नै दर्जनौं छन्। मान्छेले  जीवनमा कति सम्पत्ति कमायो भन्दा पनि कति साथी कमायो भन्ने कुरा महत्वपूर्ण हुँदो  रहेछ।  

काम र शिक्षा 

म आफ्नो कामलाई असाध्यै प्रेम गर्छु। कामबिना म नुन खाएको कुखुराजस्तो हुन्छु भन्दा  फरक पर्दैन। हरेक समय म केही न केही गरिरहेकी हुन्छु। म कामबिना फुर्सदमा बसेको  समय निकै कम छ। भनिन्छ नि, मान्छे जीवित रहनु र बाँच्नु फरक-फरक कुरा हुन्।  कामबिना म बाँच्न त बाँचिरहेकी हुन्छु, तर जीवित रहन सक्दिनँ जस्तो लाग्छ। कामबिना म  खुसी नै रहन सक्दिनँ। पछिल्लो समयमा त मैले यति धेरै काममा हात हालेकी छु, सबै  काम कसरी सक्ने होला जस्तो पनि लाग्छ। अझ म प्रेसरमा काम गर्न मन पराउँछु। कामसँगै मलाई शिक्षा पनि उत्तिकै प्यारो छ। मलाई एक दिन पिएचडी गरेर डा. निशा अधिकारी  बन्न मन छ। 

स्वतन्त्रता र आत्मनिर्भरता

यी दुई कुरा मलाई अत्यन्त मनपर्छ। यी दुवै कुरा काम र व्यस्ततासँग जोडिएका छन्। म  सानैदेखि स्वतन्त्रता मन पराउने स्वभावकी युवती हुँ। म कसैको दबाबमा भन्दा पनि स्वतन्त्र  रूपले काम गर्न मनपराउँछु। यसबाहेक म आत्मनिर्भरतामा पनि विश्वास गर्छु। पत्याउनुहुन्न  होला, कान्तिपुर टेलिभिजनमा काम गरेदेखि नै मैले घरमा एक पैसा मागेकी छैन। परिवारसँगै बसे पनि म आफ्नो आवश्यकताका सबै कुरा आफ्नै कमाइले किन्छु। कतिसम्म भने  मैले कमाएरै कारसमेत किनेकी छु। आत्मनिर्भरता मन पराउने मेरो स्वभावले नै यी सबै  कुरा सम्भव भएका हुन्। 

भ्रमण 

मलाई नयाँ-नयाँ स्थानको भ्रमण असाध्यै मनपर्छ। नयाँ स्थानको भ्रमण गर्दै नयाँ-नयाँ  मान्छेहरूसँग भेटघाट गर्नु मेरो सौख नै हो। नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ अनुभव, नयाँ  खाना, नयाँ संस्कृतिसँग रमाउन असाध्यै मनपरनउँछु। म नेपालको प्रायः धेरै ठाउँ घुमेकी छु।  भ्रमण गरिरहने मेरो बानीकै कारण मैले नेपाल कति सुन्दर छ भन्ने कुरा अनुभव गर्न पाएँ।  कामबाट फुर्सद हुनेबित्तिकै म नयाँ ठाउँ घुम्न जान्छु। 

स्पोर्टस् एन्ड एड्भान्चर स्पोर्ट्स 

मलाई सानैदेखि खेलकुदमा रुचि थियो। अहिले पनि म खेलकुदमा रमाउँछु। मलाई खेलकुदमा  पनि साहसिक खेल मनपर्छ। मैले प्याराग्लाइडिङको अनुभव लिइसकें। अब चाँडै बञ्जीजम्प  गर्दैछु। यसबाहेक मलाई जिम पनि मनपर्छ। खासगरी आउटडोर गेमले मलाई भित्रैबाट  सन्तुष्टि दिन्छ। मेरो जीवनको एउटा सपना चाँडै पूरा गर्ने तयारीमा छु। साहसिक खे लअन्तर्गत नै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने सपना पनि छ। 

चलचित्र र संगीत 

चलचित्र त मेरो पेसा नै भयो। चलचित्रमा अभिनय गर्ने मात्र होइन, चलचित्र हेर्नु पनि मेरो  सानैदेखिको सौख हो। मलाई घरमा चलचित्र हेरेर चित्त बुझ्दैन, चलचित्र राम्रो-नराम्रो जे- जस्तो भए पनि सिनेमा हलमै गएर हेर्न मन लाग्छ। त्यसबाहेक संगीत मबाट कहिल्लै छुट्दैन। घरमा, कारमा, छायांकनस्थलमा, काममा म हरेक समय संगीत सुनिरहेकी हुन्छु। मलाई  संगीतका प्रायः सबै विधा मनपर्छन्। पुराना नेपाली, हिन्दी गीतदेखि लिएर सुफी संगीतसम्म  उत्तिकै रमाएर सुन्छु। 

खाना

म खानाकी पारखी हुँ। नयाँ-नयाँ खानाको स्वाद लिनु मेरो दैनिकी नै हो। भ्रमणका क्रममा म  सबैभन्दा पहिले स्थानीय खानेकुराको स्वाद चाख्छु। मलाई सबैभन्दा मनपर्ने परिकार  इटालियन र जापानिज हो। मलाई सी फूडहरू पनि मन पर्छन्। थकाली तथा नेवारी परिकार  पनि म उत्तिकै स्वाद लिएर खान्छु। सबैभन्दा रमाइलो कुराचाहिं के छ भने मलाई खानेकुरा  पकाउन आउँदैन, खान मात्र आउँछ। 

सपिङ

फुर्सदको समयमा तपाईं के गर्न मन पराउनुहुन्छ ? भनेर सोध्नुभयो भने मेरो जवाफ हुने छ- आइलभ सपिङ। काममा जति नै व्यस्त भए पनि म आफ्ना लागि आफैं सपिङ गर्छु। म  आफ्नो व्यक्तित्वलाई ध्यानमा राखेर किनमेल गर्छु। जति नै सपिङ गरे पनि म कहिल्यै  थाक्दिनँ। म प्रायः दरबारमार्ग तथा काठमाडौंका विभिन्न मलमा सपिङ गर्न मन पराउँछु। 

युवा उडान

युवा उडान मेरो आफ्नो ड्रिम प्रोजेक्ट हो। गत जनवरी महिनादेखि प्रारम्भ भएको यो  अभियान युवापुस्तालाई लक्षित छ। यो एउटा सामाजिक क्रियाकलाप पनि हो। सामाजिक  कार्यमा समेत रुचि भएकाले म यो अभियानमा सहभागी भएकी हुँ। अभियानअन्तर्गत गत  महिनामा हामीले रौतहटका विभिन्न पााच स्थानमा लुगा वितरण गर्‍यौं। यो महिना हामीले  शिक्षा क्षेत्रमा केही गर्ने योजना बनाएका छौं। 

म आफैं

म आफैंलाई धेरै माया गर्छु। भनिन्छ नि, जसले आफूलाई माया गर्दैन उसले अरूलाई पनि  माया दिन सक्दैन। आफूले आफ्नो महत्व बुझ्नु अनिवार्य छ। आफूलाई प्राथमिकतामा राखेर  आफैंलाई खुसी दिने प्रयास गरिरहन्छु। आफू खुसी रहन सक्यो भने मात्र अरूलाई खुसी दिन  सकिन्छ भन्ने मलाई लाग्छ। पहिले आफैंलाई सक्षम बनाउन सक्यो भने मात्र अरूलाई सक्षम  बनाउन सकिन्छ।