हवाइ एम्बुलेन्स किन्ने मन्त्रालयको तयारी
![]() |
काठमाडौं, फागुन ७-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हवाई एम्बुलेन्सको व्यवस्था गर्न लागेको छ। यसका लागि मन्त्रालयले आवश्यक बजेट अर्थ मन्त्रालयसँग मागसमेत गरेको छ। हालसम्म नेपालमा सरकारी तथा निजी क्षेत्रमा हवाई एम्बुलेन्स रहेको छैन।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले सो जानकारी दिँदै भने- "अब नेपालमा पनि हवाई एम्बुलेन्स आवश्यकता परिसक्यो, यसका लागि मन्त्रालयले पहल थालनी गरेको छ।"
मन्त्रालयले जनशक्ति अभाव हुन नदिन दुई हजार चिकित्सकलाई अस्थायी नियुक्ति दिई स्वास्थ्य निकायमा पठाएको, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ संशोधन गरी राष्ट्रपतिसमक्ष पेस गरिएको, नयाँ स्वास्थ्य नीति अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिइयो।
साथै, एक हजार उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नति गरिएको र सन् २०१५ सम्ममा सबै उपस्वास्थ्यचौकीलाई स्वास्थ्यचौकी बनाउने नीति रहेको, राष्ट्रिय स्वास्थ्य सञ्चार नीति परिमार्जन गरिएको जानकारीसमेत दिइयो।
पत्रकारसम्मेलनमा भारतीय सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्मित आकस्मिक उपचार केन्द्र (ट्रमा सेन्टर) सञ्चालनमा लागि भारतका स्वास्थ्यमन्त्रीसँग आफ्नो कुराकानी भइराखेको मन्त्री महतोले जानकारी दिए। मन्त्रालयका सचिव प्रवीण मिश्रले सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन मन्त्रालयले पहिलो प्राथमिकता दिई कार्यसम्पादन गरिराखेको जानकारी दिए।
मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख डा तीर्थ बुर्लाकोटीले अस्पतालका भौतिक अवस्थाका बारेमा अध्ययन भइराखेको र हालसम्म ४५ वटा अस्पतालको अध्ययन पूरा भएको बताए। राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका प्रमुख बद्री खड्काले सबै सञ्चारमाध्यमबाट समानुपातिक रुपमा स्वास्थ्य सन्देश, सूचना प्रचारको व्यवस्था मिलाइएको उल्रलेख गरे। रासस
![]() |