राजधानीमा एकै दिन ७ सय ‘ट्यापे’ ‘मुन्द्रे’ पक्राउ


समातिनेको संख्या अझै बढ्न सक्छ : प्रहरी


१४ फागुन, काठमाडौं । नेपाल प्रहरीले सोमबार एकै दिन काठमाडौंका विभिन्न गल्लीबाट ७ सय भन्दा बढी ‘ट्यापे’, मुन्द्रे र ‘गँजडी’हरुलाई पक्राउ गरेको छ ।
-->

सडकमा आवारा भएर घम्ने र अशान्ति मच्चाउने युवाहरुको खोजी गर्न आज राजधानीका सबै प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरिएको थियो । प्रहरीले विभिन्न ठाउँबाट शंकास्पद युवाहरुलाई समाउँदै गाडीमा हालेर प्रहरी हिरासतमा ओसारेको हो ।
‘गाँजा खाएर हिँड्ने, चौकमा बसेर महिलालाई जिस्काउने, मुन्द्री लगाएर, जुल्फी पालेर हिँड्ने अनि असामाजिक कार्य गर्ने शंकास्पद ७ सय भन्दा बढी व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको वास्तविक संख्या संकलन गर्ने काम भइरहेको छ ।’- जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उत्तम सुवेदीले अनलाइनखबरसँग भन्नुभयो । पक्राउ परेकाहरुमाथि छानविन गरेर सम्झाइ बुझाइ छाडिने उहाँले बताउनुभयो । बेलाबेलामा नेपाल प्रहरीले यस्तो अभियान चलाउँदै आएको र आज एकै दिन ठूलो संख्यामा त्यस्ता युवाहरु पक्राउ परेको सुवेदीले जानकारी दिनुभयो ।
‘ट्यापे’ पक्राउ अभियानका क्रममा कमलपोखरी प्रहरी कार्यालयले २७ जनालाई पक्राउ गरेको कमलपोखरी प्रभागका इन्स्पेक्टर किरणजंग कुँवरले अनलाइखबरलाई जानकारी दिनुभयो ।