अल्झेछ क्यारे पछ्यौरी सर्‍यो



चलचित्र अल्झेछ क्यारे पछ्यौरी साउन २५ गतेदेखि दर्शकमाझ आउने भनेर प्रचार-प्रसारलाई तीव्रता दिइरहेका बेला अचानक चलचित्रको  प्रदर्शन मिति सरेको खबर पाएपछि प्रस्तुतकर्ता रवि बस्नेतले तीनछक्क पर्दै भने- देश चलाउनेहरूको राजनीतिक चलखेलभन्दा चलचित्र  चलाउनेहरूको रणनीति बुझ्न गार्‍हो। यो चलचित्र अब भदौको दोस्रो सातापछि मात्र प्रदर्शनमा आउनेछ। 

द ब्ल्याक डायरीको मुहूर्त

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र 'द ब्ल्याक डायरी' को शुभमुहूर्त गरिएको छ। बागबजारको सिटी स्क्वायरमा बिहीबार बिहान  आयोजित एक समारोहमा सञ्चारकर्मी सविन शाक्यको यो चलचित्रको शुभमुहूर्त सम्पन्न भएको हो। सुजन घिमिरेले निर्देशन गर्ने यो  चलचित्रमा अनमोल केसी, निकिता शाही, पूजा भट्ट आदि कलाकारले अभिनय गर्नेछन्। चलचित्रमा नायक भुवन केसी विशेष भूमिकामा दे खिनेछन्। 

बन्दैछ पागल बस्ती

करिब एक सयवटा म्युजिक भिडियो निर्देशन गरिसकेका नृपतेन्द्रध्वज राणा पहिलो पटक चलचित्र निर्देशक बन्ने भएका छन्। आफ्नै लगानीमा  उनले निर्देशन गर्ने चलचित्रको शीर्षक 'पागल बस्ती' राखिएको छ। अधिकांश नयाँ कलाकारले अभिनय गर्ने यो चलचित्रको गीत रेकर्डिङ यसै  साता प्रारम्भ भएको छ। चलचित्रमा गायक तथा संगीतकार सशान कँडेल तथा नरहरि प्रेमीले संगीत दिएका छन्। युवापुस्तामा केन्द्रित यो  चलचित्रको छायांकन चितवन तथा काठमाडौंमा गरिने बताइन्छ। चलचित्रका लागि अंकित खड्का, सिर्जना ढकाल, रजिना कँडेल, अर्जेश रेग्मी  आदि कलाकार अनुबन्धित भएका छन्। 

भिडियोमा करिश्मा र निर्मल

नायिका करिश्मा मानन्धरले लामो समयपछि म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। करिश्माले नायक निर्मल सेन्चुरीसँगै एउटा आधुनिक  गीतको भिडियोमा अभिनय गरेकी हुन्। कर्ण शाक्यको शब्द तथा गायिका मेरी धाख्वाको स्वरको उक्त म्युजिक भिडियोको निर्देशन वसन्त श्रे ष्ठले गरेका हुन्। यो गीत गायिका धाख्वाको एल्बम इन्डलेस लभमा समावेश छ। 

शिव श्रेष्ठ अब निर्माता

पुराना नायक शिव श्रेष्ठ अब निर्माताका रूपमा रजतपटमा स्थापित हुने तरखरमा छन्। श्रेष्ठले निर्माण गर्ने नयाँ चलचित्रको शीर्षक 'खुकुरी  कान्छी' राखिएको छ। सविर श्रेष्ठले यो चलचित्र निर्देशन गर्ने पक्का भएको बताइन्छ। सबिरले छवि ओझाको 'हमेशा' तथा रमेश त्वयनाको  'आधीबाटो' पछि शिवको चलचित्र निर्देशन गर्नेछन्। 'हमेशा' को छायांकन आगामी असोज १ देखि प्रारम्भ हुनेछ भने आधीबाटो तिहारपछि  थालिनेछ। 

मलेसिया पुगे सविन

चलचित्र 'गल्ली' का केही दृश्यको छायांकनका लागि लोकेसन खोज्ने क्रममा नायक सविन श्रेष्ठ यो साता मलेसिया पुगेका छन्। चलचित्र ले खक प्रकाश पुरीका साथ सविन गत आइतबार राति मलेसिया पुगेका हुन्। छायांकन प्रारम्भ हुन बाँकी रहेको 'गल्ली' को निर्देशन १८ वर्षीय  निर्देशक एनआर घिमिरेले गर्दैछन्।

एउटै चलचित्रमा धेरैको डेब्यु 

आगामी सातादेखि प्रदर्शनमा आउने चलचित्र 'लभ इज लाइफ' मा धेरै जनाले पहिलो पटक काम गरेका छन्। चलचित्रका निर्देशक एलएन  गौतमको यो पहिलो चलचित्र हो। नायक सुशान्त कार्की तथा नायिका स्मीता थपलियाको पनि यो पहिलो चलचित्र हो। प्रेमी-प्रेमिकाबीचको  प्रसंग मात्र नभएर प्रेमलाई विश्लेषण गर्न सकिने अन्य थुप्रै पक्षलाई विषय बनाइएको यो चलचित्रको कथा रमेश गौतमले लेखका हुन्।