अझै भएन काजकिरिया
![]() |
थोर्गा (गुल्मी), श्रावण १७ - गोरेटो छेउकै कच्ची घर सुनसान छ । सिंगो घरमा एकजना वृद्ध लौरो टेकेर वरपर गर्दै छन् आफ्नै धुनमा । घरिघरि बर्बराउँर्छ् । छोरा, नाति, नातिनासमेत १३ जना परिवारको दुर्घटनामा मृत्यु भएपछि उनी मर्माहत बनेका हुन् । वृद्ध मात्रै होइन, छिमेकी पनि शोकाकुल छन् ।
८३ वर्षीय अनबहादुर राना शनिबार जेठो छोरा धनबहादुरको काजकिरियाको तयारीमा जुट्दै थिए । काजकिरियाका लागि घरमा पराल खोजेर, कोठी लिपपोत गरेर पण्डितसँग सल्लाह पनि भइसकेको थियो । शनिबार क्षेत्रबास बस्ने र आइतबारबाट काजकिरियाको काम सुरु गर्ने पनि तयारी थियो । तर, शुक्रबार राति आइपुग्ने भनेका नाति-नातिना घर नआउँदै बाटैमा दुर्घटनामा परेपछि अहिले छोरा, नातिनातिनाको काजकिरिया गर्न समेत अन्योल छाएको छ ।
अनबहादुरका जेठा छोरा ५९ वर्षीय धनबहादुर बितेको ८ दिन बितिसक्दा पनि अझै काजकिरिया सुरु हुन सकेको छैन । उनका नातिनातिना बितेको पनि तीन दिन बितिसकेकेको छ । '१० दिनभित्र काजकिरिया सुरु नगरे पुनः १३ दिन बस्नुपर्छ भन्छन्,' उनले भने, 'तर, नाति सत्येन्द्रको अवस्था गम्भीर भएकाले काजकिरियाको काम अगाडि बढाउन सकिएको छैन ।' धनबहादुरका छोरा ३० वर्षीय सत्येन्द्र र अर्का १० वर्षीय छोरा निलेशको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालका अनुसार सत्येन्द्रको अवस्था गम्भीर छ ।
नाति सत्येन्द्रको अवस्था गम्भीर भएको सुनेका उनले काजकिरिया गर्न अझै अन्योल छाएको बताए । भारतको उत्तरप्रदेश लखिमपुर खिरी बस्दै आएका जेठा छोरा धनबहादुर बितेर अस्तु लिएर आएका उनका नाति-नातिना पाल्पाको देउराली र बौघापोखराथोक गाविसको सिमाना जोर्ते कुरुङखोलामा दुर्घटनामा पर्दा १३ जनाको मृत्यु भएको थियो । 'नातिनातिनालाई दागबत्ती पनि दिएँ,' उनले गहभरि आँसु पार्दै भने, 'छोराको अस्तु पनि भेटियो अनि काली नदीमा बगाइदिएँ ।'
गुल्मीको थानपति ५ थोर्गा, माझगाउँको आगलागीबाट बचेको पुरानो घरमा एक्लै बस्ने वृद्ध अनबहादुर वल्लो-पल्लो घर धाउँछन् अनि टोलाउँछन् । एउटा हातमा लौरो नछोड्ने उनी आफैंलाई धिक्कार्दै बर्बराउँछन् र भन्छन्, 'मलाई किन यो बुढेसकालमा दुःखमाथि दुःख खप्टिएको होला ।' १३ मध्ये २ साना-साना नानीबाबु र नातिनीबाहेक १० जनालाई दागबत्ती दिएको उनले बताए । नौ महिना अघि उनले अर्को छोरालाई गुमाएका थिए । १० वर्षअघि भारतको पन्जाब गएका छोरालाई दागबत्ती दिन पाएका थिएनन् भने अहिले जेठो छोराको अस्तुसम्म बगाउन पाएको उनले बताए । 'छोरो बितेको ६ दिनमा अनौठो आपत् आयो बाबु, दैवको लीला पनि अचम्मै हुँदोरहेछ ।'
८३ वर्ष पुगे पनि टाठै देखिने उनले छोराको काजकिरिया गर्न कपाल समेत मुण्डन गरेका थिए । बिहानै अनिष्ट खबर सुनेपछि उनले एकछिन त पत्याएनन् । उनलाई पत्यारै लागेन रे । 'तपाईं रिडी घाटमा जानुपर्छ भनेर लगेपछि बल्ल हो रहेछ भन्ने लाग्यो,' उनले भने, 'रिडी घाट गए, सबैलाई एक-एक गरेर हेरे बल्ल पत्यार लाग्यो ।' घरिघरि बर्बराउँदै भन्छन्, 'कसैलाई पनि यस्तो संकट नआओस् ।' उनका चारवटी श्रीमतीका ६ भाइ छोरा भए पनि साथमा कोही पनि छैनन् । चार वटै श्रीमतीको मृत्यु भइसकेको छ । 'एउटीका छोराछोरी भएनन्,' उनले भने, 'तीन वटीका छोराहरू हुन् ।' सबैले आ-आफ्नै काम गर्ने भएकाले लाखापाखा लागेका छन् । वृद्ध अनबहादुरको गुनासो पापी कालले आफूलाई नलगेर भर्खर कलकलाउँदालाई लगेकोमा थियो । 'कस्तो लीला हो यो, आफैं मर्न पनि नसकिँदोरहेछ,' माहिली बुहारीले नसक्दा पानी खुवाउने र नातिनाले सहयोग गर्ने बताउने उनले भने, 'अर्को नातिको पनि अवस्था गम्भीर भन्ने सुनेको छु । हे भगवान्, उसलाई केही नहोस् ।'
छिमेकी पि्रतम श्रेष्ठले परिवारलाई अनौठो दुःख आइपरेको बताए । उनले राना परिवारमा परेको दुःखले गाउँवासी सबैलाई पीडामा पारेको बताए ।
'लमही आएको खबर पाएका हौं' बिहानै ५ बजे लखिमपुरबाट हिँडेका राना परिवार साँझ ८ बजे दाङको लमही आएको खबर परिवारमा आएको थियो । छिमेकी शालिकराम ज्ञवालीको मोबाइलमा फोन गरेर भैया (सत्यन्द्र) ले आफूहरू रातिसम्म आइपुग्ने बताएका थिए । वृद्ध अनबहादुरको आफ्नो मोबाइल नभएकाले छिमेकीकोमा फोन गरे पनि पछि सम्पर्क हुन सकेको थिएन । 'हाम्रो फोन थिएन,' वृद्ध अनबहादुरले भने, 'अरूकोमा के-के कुरा भयो थाहा भएन । राति-राति नआऊ भन्न पनि पाइएन ।' घर-परिवारले फोन गरे पनि सम्पर्क नभएपछि कुरा हुन सकेको थिएन । शनिबार बिहान एकैपटक दुःखद् खबर आउँदा गाउँलेलाई नै शोकमा डुबाएको स्थानीय कमल श्रेष्ठले बताए ।
![]() |