एमालेले उपाध्यक्ष राईलाई स्पष्टीकरण पत्र पठायो
|
- सात दिनभित्र पार्टी काममा फर्किन निर्देशन
काठमाडौं, भाद्र ९ - एमालेले असन्तुष्ट रहेका उपाध्यक्ष अशोक राईसँग उनका पछिल्ला अभिव्यक्ति र गतिविधिहरूमाथि स्पष्टीकरण माग गर्दै सात दिनभित्र पार्टी काममा फर्किन पत्र पठाएको छ ।सचिवालयको तर्फबाट अध्यक्ष झलनाथ खनालले नै राईलाई स्पष्टीकरण पत्र पठाएका छन् । यसअघि पार्टीको अनुशासन आयोगले पनि राई र असन्तुष्ट नेताहरूलाई पत्र पठाएको थियो । पछिल्लो पटक राईले अग्रगामी समूह निर्माण गरी जिल्लामा पनि विस्तार गर्न थालेपछि स्थायी समितिले राईलाई गत साता नै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्थायी समितिको निर्णयअनुसार अध्यक्ष खनालका तर्फबाट सचिवालयले शुक्रबार राईलाई सातदिने अल्टिमेटमसहितको पत्र पठाएको हो ।एमाले स्रोतअनुसार पत्रमा अग्रगामी विचार समूहका नाममा के/के गतिविधि गरिरहेको हो र पार्टीमा नरहने भन्ने पाछिल्ला अभिव्यक्तिहरूबारे स्पष्टीकरण दिन भनिएको छ । उपाध्यक्ष राईले केही समयअघि एमाले सच्चिए पनि आफू पार्टीमा नरहने भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई स्थायी समितिले पनि गम्भीर रूपमा लिँदै के भन्न खोजेको हो, त्यो स्पष्ट पार्न लगाउनुपर्ने निर्णय गरेको थियो । झन्डै दुई पेज लामो पत्रमा राईले पार्टीमा गरेको योगदानहरूसमेतको चर्चा गर्दै पछिल्ला दिनमा गरिरहेका गतिविधिहरूबारे स्पष्ट पार्न र पार्टी काममा फर्किनका लागि समय तोकिएको स्रोतले बताए ।पटक-पटकको प्रयासबाट पनि राई पार्टीमा फर्किने सम्भावना क्षीण हुन थालेपछि एमालेे स्पष्टीकण प्रक्रिया अघि बढाएको हो । तोकिएको समयमा पार्टी काममा नफर्किए कारबाही प्रक्रिया अघि बढाउने एमालेको योजना छ ।एकल जातीय पहिचानसहितको संघीयता एमालेले नस्वीकारेपछि उपाध्यक्ष राईसहित केही जनजाति नेताहरू असन्तुष्ट बनेका हुन् । उनीहरूले संविधानसभा विघटनको दोषी पनि एमाले भएकाले त्यसमा आत्मालोचना गर्नुपर्ने, संविधानसभा पुनःस्थ्ाापना गर्नुपर्नेलगायत माग पार्टीमा राखेका थिए । पार्टीले गरेको निर्णयहरू विपरीत अभिव्यक्ति दिने र पार्टी काममा संलग्न नभएपछि एमालेले उनीहरूलाई जिम्मेवारीबाट पनि हटाएको थियो । पहिलो चरणमा राईलाई स्पष्टीकरण पत्र पठाएको र अन्य नेताहरूलाई पनि क्रमशः पठाउने एमाले स्रोतले बताएको छ ।
|

.jpg)


