हिंसा छानबिनकी सदस्य विरुद्ध उजुरी


काठमाडौं, श्रावण ३० - महिला हिंसा सम्बन्धी छानविन गर्न सरकारद्वारा गठित समितिकी एक सदस्यकैविरुद्ध हिंसाको उजुरी परेको छ । सरकारले सञ्चारकर्मी प्रकाशचन्द्र दाहालले महिलामाथि गरेको हिंसालाई लिएर दुई साता अघि उक्त समिति गठन गरेको थियो । सरकारी समितिकी सदस्य देबी खडकाकी भाइबुहारी जानुका पराजुलीले आफूमाथि दिदीबाटै भएको मानसिक हिंसाका कारण गर्भपतन गर्नुपरेको भनेर एमाओवादी केन्द्रीय कार्यालय र ताम्सालिङ राज्य समितिमा उजुरी दिएकी हुन् ।
खड्का प्रधानमन्त्री कार्यालयको लैङ्गकि हिंसा इकाइकी सल्लाहाकार र एमाओवादीकी पूर्व सभासद्समेत हुन् । पराजुलीले आफु मृगौलामा पत्थरी भएर सिकिस्त बिरामी भएको बेला दिदी देवी र भाइ बिशालले 'नाटक गरेको' भन्दै मानसिक तनाब दिएको उजुरीमा छ । । पीडक पक्ष पार्टीको माथिल्लो तहमा भएकाले आफ्नो पीडा कतैबाट सुनुवाई नभएको उनले गुनासो गरेकी छिन् । मानसिक यातना दिने दुवैमाथि छानबीन गरी कडा कारवाही गर्न माग उनले गरेकी छिन् । उनका पति बिशाल एमाओवादी दोलखा जिल्ला कमिटीका सहसचिब र ताम्सालिङ राज्य समितिका सदस्य हुन् ।
विवाहपछि स्वास्थ्यमा समस्या देखापरेको र त्यतिबेलै गर्भवती भएको उनले सुनाइन् । 'बायाँ कोखा असहृय दुखेपछि जाँच गर्दा मृगौलामा पत्थरी देखापर्‍यो,' परिवारसहित डाक्टरसित सुझाव लिएको उल्लेख गर्दे उनले भनिन्, 'बीर अस्पतालका डाक्टरले शल्यक्रिया गर्नुपर्ने र त्यसो गर्दा गर्भमा असर पर्ने हुँदा गर्भपतन गराउनुपर्ने सल्लाह दिए । त्यसैअनुसार मैले गर्भपतन गराएँ ।'
त्यसपछि पतिले बेवास्ता गरेको उनले जनाइन् । कतैबाट सुनुवाई नभएपछि फेरि पार्टी कार्यालयमा यही साउन ६ गते निवेदन दिएकी छिन् । त्यसैगरी प्रधानमन्त्री कार्यालयले महिला हिंसामाथिको छानविन समिति गठनसँगै पीडक व्यक्ति नै सदस्य तोकिएपछि जानुका पराजुली आफूमाथि परेको अन्याय छानविन गर्न माग राखेकी छिन् । छानविन समितिकी सदस्य देबीले पाँच वर्षअघि पार्टीमा परेको उजुरीलाई लिएर कमिटी गठन भएको बताइन् । 'कमिटिले प्रतिवेदन बुझाइसकेको र त्यसमा विशालले फोन नउठाएको मात्र देखियो, यसलाई हिंसाको परिभाषाभित्र राख्न मिल्दैन,' उनले भनिन् ।