मोबाइल चार्ज गर्न तँछाडमँछाड



  • सातादेखि बिजुली अवरुद्ध




    इलाम, श्रावण ३० - मोवाइलमा व्याट्री चार्ज नभएकाले घरपरिवारमा फोन सम्पर्क गर्न समेत नसकेपछि सोयाङकी जोशिला खत्री सोमवार विकल्प खोज्दै नेपाल टेलिकमको कार्यालय परिसरमा भेटिइन् । नौ दिनदेखिको विद्युत अवरोधका कारण समाचार सम्प्रेशण गर्न नपाएका गोरखापत्रका संवाददाता बुद्ध राई तिल्केनीस्थित सवस्टेशनमा ल्यापटप चलाएर समाचार पठाउने तयारी गर्दै थिए । अध्ययनका लागि सदरमुकाम बस्दै आएका जीतपुरका डोलेन्द्र फियाक मोवाइल चार्जकै लागि टेलिकम आएका थिए ।
    नौ दिनदेखि तिल्केनीस्थित सबस्टेशनको ट्रान्सर्फमरमा खराबी आएपछि विद्युत अवरुद्ध भएकाले मोवाइल चार्ज गर्न र अत्यावश्यक कामकालागि जेनेरेटर भएको स्थानमा भिड लाग्ने गरेको छ । विद्युत प्राधिकरण टेलिकमलगायतले सर्वसाधारणका लागि मोवाइल र अत्यावस्यक कामका लागि निशुल्करुपमा जेनेरेटर चलाएर सेवा दिने गरेकाले सर्वसाधारणको भिड लागेको हो । ती स्थानमा दैनिक हजार जनासम्म सेवा लिन आउने गरेका छन् ।
    टेलिकमले ग्राहकलाई मोवाइल चार्जको मात्रै सेवा दिने गरेको छ । तर प्राधिकरणको सव स्टेशनमा भने जुनसुकै विद्युतिय सामान चार्ज गर्न पाइने व्यवस्था छ । कार्यालय समयदेखि चार्जका लागि सर्वसाधारणको भिड लागि सकेको हुन्छ । टेलिकमले आइतवार सवै कम्पनीका मोवाइल चार्ज गर्न दिए पनि भिड अत्याधिक वढेकोले झगडा हुने स्थिती भएपछि आफ्ना ग्राहकलाई मात्र सेवा दिने जनाएको थियो ।
    सदरमुकामका केही पसलमा जेनेरेटर मार्फत प्रति मोवाइल ३० रुपैयाँसम्म लिएर चार्ज गर्ने गरेका छन् । लामो समयदेखि विद्युत नभएकाले ल्यापटप, मोवाइल, टर्चलाइट, क्यामेरालगायत विद्युतिय सामाग्री चार्जकै लागि यहाँका बासिन्दाले लामो समय खर्चने गरेका छन् ।
    'गाउँमा कुनै विकल्प नभएपछि मोवाइल चार्ज गर्नकै लागि सदरमुकाम आउनु परेको छ,' नयाँबजारका मुरारी पौडेलले भने, 'गाउँका कसैको मोवाइल पनि चार्ज सकिएर चल्न नसक्ने भएपछि आपतकालिन अवस्थामा पनि कसैलाई खबर गर्न नसकिने भएको छ ।'
    स्थानीय एफएमले रेडियो संचालनका लागि केहि समय जेनेरेटर चलाउने गरे पनि थेग्नै नसक्ने भिड लाग्ने गरेको नेपालवाणी एफएमका स्टेशन मेनेजर सोमनाथ सुसेलीले  वताए । 'सम्भव भएसम्म चार्ज गर्ने व्यवस्था मिलाइ दियौं तर केही नलाग्ने भएपछि समाचारको समयमा मात्र रेडियो चलाउन वाध्य भएका छौं ।
    तिल्केनीस्थित सबस्टेशनको मूख्य पावर ट्रान्सर्फमर पड्किएपछि सदरमुकामलगायत इलामका २० र पाँचथरका दुई गाविस प्रभावित भएका हुन् । यहाँको तीन एमभीए क्षमताको ट्रान्सर्फमर प्रयास गर्दा पनि नबने पछि हेटौडावाट डेढ एमभीएको ट्रान्सर्फमर ल्याइएको थियो । तर त्यसले पनि काम नगरेकाले दमकवाट अर्को ६/८ एमभिएको ट्रान्सर्फमर ल्याउदै गरिएको प्राधिकरणले जनाएको छ । पूर्वी कोल्वुङको हर्कटेमा सोमवार दिउसो ट्रान्सर्फमर बोक्ने गाडी बिगि्रएकाले मेकानिक ल्याउन प्रयास भइरहेको प्राधिकरणले बतायो ।
    सम्वन्धित सवै निकाय छिटो विद्युत सेवा संचालनका लगि प्रयासरत रहेकोले केही समय प्रतिक्षा गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 'अन्य अवरोध नआए १० दिन भित्रमा विद्युत वल्छ,' प्रमुख जिल्ला अधिकारी बावुराम खतिवडाले भने । विद्युत अवरोधका कारण यहाँको व्यपारव्यवसाय प्रभावित भएको छ भने आम नागरिकको दैनिकी कष्टप्रद भएको छ । विद्युत संचालनका लागि स्थानीयले बजार बन्द गर्ने, प्राधिकरणमा तालबन्दी गर्ने, विरोध जुलुश निकाल्ने र ज्ञापन पत्र बुझाउने जस्ता दबावमूलक कार्यक्रम गर्दै आएका छन् ।